काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहले आफ्नो अवधारणापत्र बुझाएको छ । सोमबार पार्टी मुख्यालय च्यासल पुगेर पोखरेलसहितका नेताले अवधारणापत्र बुझाएका हुन् ।
पोखरेलले महासचिव शंकर पोखरेललाई अवधारणापत्र हस्तान्तरण गरे । उनले पार्टीको ११औँ महाधिवेशनलक्षित अवधारणापत्र तयार पारेका हुन् ।
अवधारणापत्रमा पार्टी र समसामयिक विषयमा समेटिएको छ । “गत भदौ २३ गते भएको ‘जेनजी’ आन्दोलन र भदौ २४ गतेको विध्वंसपछिको परिवेशमा हामी पार्टीको महाधिवेशनमा उपस्थित भएका छौँ । यसबीचमा हामीमाथि सोधिएका प्रश्नहरू, गरिएका खबरदारीहरू, लगाइएका आरोपहरू, थोपरिएका लाञ्छनाहरू र हामीप्रति व्यक्त आशाबारेमा हामी जानकार छौँ,” अवधारणापत्रमा उल्लेख छ ।
आसन्न महाधिवेशनमा ईश्वर पोखरेलले अध्यक्षमा उमेदवारी घोषणा गरेका छन् । एमाले महाधिवेशन यही मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुँदै छ ।
पार्टीका पूर्वउपाध्यक्ष एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेमा फर्कने वातावरण बनाइनुपर्नेमा अवधारणापत्रमा जोड दिइएको छ ।
FACEBOOK COMMENTS