काठमाडौं । ऊर्जा मन्त्री कुलमान घिसिङले हितेन्द्रदेवलाई हटाएर कार्यकारी निर्देशकको जिम्मेवारी दिएका मनोज सिलवाल नेपाल विद्युत प्राधिकरणमा ७८ दिनकाम गरेर बाहिरिएका छन् ।
सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणमा कार्यकारी निर्देशकका रूपमा हितेन्द्रदेव शाक्यलाई पुनर्बहाली गर्न आदेश दिएपछि सिलवाल प्राधिकरणबाट बाहिरिएका हुन् ।
गत असोज ५ गते बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएर जल तथा ऊर्जा आयोगमा ऊर्जा विशेषज्ञका रूपमा सरुवा गरेको थियो । शाक्यलाई हटाउन ऊर्जामन्त्री घिसिङले मन्त्रिपरिषद्मा प्रस्ताव पेस गरेका थिए ।
सोमबार न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले उक्त निर्णय बदर गर्दै शाक्यलाई पुन: प्राधिकरणकै कार्यकारी निर्देशक पदमा पुनस्थापन गर्न आदेश दिएको थियो ।
सोही अनुसार बुधबार नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकका रूपमा हितेन्द्रदेव शाक्यले पदभार ग्रहण गरेका छन् । सिलवालले अदालतको परमादेशलाई सम्मान गर्ने बताएका छन् ।

FACEBOOK COMMENTS