काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका–५ बस्ने भक्तपुर मध्यपुर थिमि नगरपालिका–८ घर भएकी ३० वर्षीया उजुना श्रेष्ठ र ललितपुर टिकाथली बस्ने कञ्चनपुर बेलौरी नगरपालिका–२ घर भएका ४८ वर्षीय मान बहादुर रिसाल रहेका छन् ।
पक्राउ मध्ये उजुनाले रोमानिया पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट १० लाख रूपैयाँ र मान बहादुरले चेक रिपब्लिक पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उजुनालाई काठमाडौं महानगरपालिका–१० बाट सोमबार र मान बहादुरलाई ललितपुर महालक्ष्मी नगरपालिका–५ बाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
FACEBOOK COMMENTS