बुटव । उच्च अदालत तुलसीपुर, बुटवल इजलासले सहकारी ठगी तथा संगठित अपराध मुद्दामा थुनामा रहेका छविलाल जोशीको हकमा जिल्ला अदालतको आदेश बदर गर्दै मिसिल पुन: जिल्ला अदालतमै फिर्ता पठाउने आदेश दिएको छ ।
बिहीबार न्यायाधीशद्वय बासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासले रुपन्देही जिल्ला अदालतले २०८२ असोज २६ गते गरेको थुनछेक आदेशलाई बदर गरे पनि जोशीलाई सिधै थुनामुक्त भने गरेको छैन ।
अदालतले जोशीको मुद्दालाई प्रमाणको अभावका कारण पुन: तल्लो अदालतमै फर्काइदिएको हो। बहसका क्रममा जोशीका कानुन व्यवसायीहरूले दामासाहीले कायम हुने बिगो बापतको जमानतको ‘छायाप्रति’ मात्र पेस गरेका थिए ।
आदेशमा भनिएको छ, ‘निजले दिएको निवेदन तथा आजै यसै इजलास समक्ष बहसको क्रममा कानून व्यवसायीबाट मेरो हकमा दामासाहीले कायम हुने बिगो वापत जमानत दिई पाऊँ भनी जमानतको छायाप्रति सहित अनुरोध गरेको देखिँदा सो समेतको परिस्थितिलाई विचार गरी सुरु जिल्ला अदालतको आदेश बदर गरिदिएको छ ।
अदालतको आदेशअनुसार पूर्व डीआईजी समेत रहेका जोशीले अब आफ्नो भागमा पर्ने बिगो रकम बराबरको बैंक ग्यारेन्टी वा धरौटीको सक्कल कागजात लिएर रुपन्देही जिल्ला अदालतमा निवेदन दिनुपर्नेछ। जिल्ला अदालतले उक्त सक्कल प्रमाण हेरेर पुन: विचार गर्ने बाटो उच्च अदालतले खोलिदिएको छ ।

FACEBOOK COMMENTS