काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामछिाने धरौटीमा रिहा भएका छन् । शुक्रबार साँझ भैरहवा पुगेका लामिछाने जिल्ला अदालत रुपन्देहीमा प्रकृया पुर्याएर रिहा भएका हुन् । रिहा भएपछि लामिछानेले न्यायको लडाई जारी रहेको बताउदै आफुले धेरै कुरा भन्न बाँकी रहेको र आउने दिनमा बताउने उल्लेख गरेका छन् ।
अदालत बाहिर लामिछानेलाई सयौं रास्वपा कार्यकर्ताले स्वागत गरेका छन् । लामिछाने आजै चितवन जाने बताइएको छ । यसअघि भैरहवाको मौसम खराब भएका कारण लामिछाने भरतपुरसम्म जहाजमा र त्यसपछि गाडीमा भैरहवा पुगेका थिए । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी र संगठित अपराधको अभियोगमा पूर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई बिहीबार उच्च अदालतले सर्तहरूसहित धरौटीमा थुनामुक्त गर्न आदेश दिएको थियो । लामिछानेले यसअघिनै अदालतमा पेश गरेको २ करोड ७४ लाख ८४ हजार बिगो बापतको बैंक जमानत (ग्यारेन्टी) र एक करोड थप धरौटी राखेर रिहा भएका हुन् ।
२- ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले भरतपुर चितवन स्थित निर्माणाधिन भरतपुर सिटीहलको शुक्रबार साँझ निरीक्षण गरेका छन् । २०७७ साल मंसिरमा सम्झौता भई २०७९ फाल्गुनमा सम्पन्न गर्ने गरी निर्माण सुरु गरिएको सिटीहल निर्माण कार्य सुस्त भएको पाईए पछि निर्माणाधिन हलको निरीक्षण गरेका हुन् । हालसम्म ६० प्रतिशत निर्माण कार्य सम्पन्न भएको उक्त सिटीहलको रुफ (छाना)को डिजाईनमा समस्या आएका कारण निर्माण कार्य करिब डेढ बर्ष अवरुद्ध भएको थियो । हाल रुफ(छाना)को संसोधित डिजाईन स्वीकृत भईसकेपछि निर्माण कार्य सुचारु भएको छ ।
निर्माण कार्यको समयावधि संसोधन गरी २०८३ असार ११ सम्म थप गरिएको छ । निर्माण सम्झौता ८७ करोड ८८ लाख रहेको सिटीहलमा २००० जना क्षमताको मुख्यहल र ३०० क्षमताको सहायक हल सहित ७ वटा ब्लक रहनेछन् । मन्त्री घिसिङले मुख्य रुपमा रुफ संरचनाको डिजाईनमा भएको त्रुटिका कारण ढिला भएको पाईएको बताए । उनले सिटीहलको रुफ (छाना) संरचनाको निर्माण संगसंगै अन्य संरचना निर्माणको कार्य पनि छिटो गर्न निर्देशन दिएका छन् ।

३- प्रधानमन्त्री सुशिला कार्कीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारीलाई खानेपानी मन्त्रालयको पनि जिम्मेवारी दिएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको कार्कीको सिफारिसमा मन्त्री भण्डारीलाई खानेपानी मन्त्रालयको पनि जिम्मेवारी तोकेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ । यसअघि खानेपानी मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री कार्की आफैले सम्हालेकी थिइन् ।

४- राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन सम्बन्धि अध्यादेश जारी गरेका छन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२ जारी गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ । सरकारले २०७८ को जनगणनाको प्रतिवेदन बमोजिमको दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारु, मुस्लिमको जनसंख्या प्रतिशतको आधारमा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ अनुसूची १ लाई संशोधन गर्न सिफारिस गरेको थियो । निर्वाचन ऐन २०७४ अनुसूची—१ मा राष्ट्रिय जनगणना २०६८ अनुसार समावेशी समूहको प्रतिशत उल्लेख छ ।

फागुन २१ गतेको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा २०७८ को जनगणनाअनुसार समावेशी समूहको प्रतिशत गर्नुपर्ने भएकाले निर्वाचन आयोगले सरकार समक्ष कानुन संशोधन गर्न माग गरेको थियो । यो अध्यादेश जारी भएसँगै अब फागुन २१ हुने प्रतिनिधिसभा सदस्यअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ राष्ट्रिय जनगणना २०७८ को जनसंख्याका आधारमा समावेशी आधार प्रतिशतका आधारमा दलहरूले उम्मेदवारको बन्द सूची पेस गर्नेपर्ने छ । बन्दसूची तयार गर्दा भूगोल र प्रादेशिक सन्तुलनलाई समेत ध्यान दिई जनसंख्याको आधारमा दलित, आदिवासी जनजाति, खसआर्य, मधेसी, थारू, मुस्लिमसमेतको समानुपातिक प्रतिनिधित्व हुने गरी समावेशी सिद्धान्तबमोजिम तयार गर्नुपर्ने छ ।

५- आर्थिक संकट, भूकम्प र चक्रवातको विनासबाट गुज्रिरहेको श्रीलंकाले पुननिर्माण कोषमा ४.२ अर्ब श्रीलंकाली रुपैयाँ जम्मा गर्न सफल भएको छ । श्रीलंकाको अर्थ मन्त्रालयका एक वरिष्ठ अधिकारीका अनुसार चक्रवात दिट्वाबाट गम्भीर रूपमा प्रभावित श्रीलंकाको पुनर्निर्माणका लागि स्थापित ‘पुनर्निर्माण श्रीलंका कोष” मा ४.२ अर्ब श्रीलंकाली रुपैयाँ भन्दा बढी जम्मा गरिएको छ । राष्ट्रपति अनुरा कुमार दिसानायकेले चक्रवात पछिको पुनर्निर्माण र पुनर्निर्माणलाई सहयोग गर्न कोष स्थापना गरेका थिए । कोषमा अहिलेसम्म कुल ४.२ अर्ब श्रीलंकाली रुपैयाँ जम्मा गरिएको छ । यसमध्ये २ करोड ३० लाख विदेशी मुद्रामा प्राप्त भएको बताइएको छ ।
सहयोगको रुपमा ६० लाख डलरभन्दा बढी विदेशी मुद्रामा मात्र प्राप्त भएको र यस कोषमा योगदान देश भित्र र विदेशका व्यक्तिहरू, श्रीलंकाली उद्योगपतिहरू, व्यावसायिक संस्थाहरू, सामाजिक संस्थाहरू, विदेशमा बस्ने श्रीलंकाली नागरिकहरू र शुभचिन्तकहरूले सहयोग गरेको सरकरले जानकारी दिएको छ । सरकारले विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र एसियाली विकास बैंक जस्ता अन्तर्राष्ट्रिय संस्थाहरूले पुनर्निर्माणमा सहयोग गर्ने आशा पनि राखेको बताएको छ ।
जसमा सहयोगको सबैभन्दा ठूलो हिस्सा उत्तर अमेरिका, अष्ट्रेलिया, चीन र बेलायतबाट आएको बताइएको छ । श्रीलंकाको संसदले राहत र पुनर्निर्माण लागतहरू कभर गर्न आज ५०० अर्ब रुपैयाँको अतिरिक्त बजेट अनुमोदन गर्ने अपेक्षा गरिएको छ । प्रारम्भिक सरकारी अनुमान अनुसार, कुल पुननिर्माण लागत छ देखि सात अर्ब डलर पुग्न सक्छ । चक्रवात दिट्वाले देशभरि ठूलो बाढी, पहिरो र पूर्वाधारमा गम्भीर क्षति पुर्याएपछि श्रीलंकालाई संकटमा पुर्याएको छ ।
६- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीन कार्ड लटरी (डिभी भिसा कार्यक्रम) निलम्बन गरेका छन् । यो कार्यक्रममार्फत ब्राउन विश्वविद्यालय र एमआईटी गोलीकाण्डका संदिग्ध व्यक्ति संयुक्त राज्य अमेरिका प्रवेश गरेको पिए पछि ट्रम्प प्रशासनले डिभी कार्यक्रम निलम्बन गरेको हो । अमेरिकी गृह सुरक्षा सचिव क्रिस्टी नोएमले ट्रम्पको निर्देशनमा डिभी कार्यक्रम अस्थायी रूपमा निलम्बन गर्न आदेश दिएको बताएकी छन् ।
ट्रम्पले यो निर्णयलाई राष्ट्रिय सुरक्षासँग जोड्दै ग्रीन कार्ड लटरी जस्ता कार्यक्रमहरू मार्फत अमेरिका प्रवेश गर्नेहरूको लागि पूर्ण पृष्ठभूमि जाँच आवश्यक रहेको बताउदै हालको प्रणालीमा त्रुटिहरू रहेको र यसबाट गलत फाइदा उठाउन सक्ने ठाउ रहेको बताएका छन् । ट्रम्प लामो समयदेखि डाइभर्सिटी भिसा लटरीको विरोध गर्दै आएका छन् । यसैबीच, ट्रम्पले कानुनमा समावेश गरिएको, जस्तै डाइभर्सिटी भिसा लटरी, वा संविधानमा समावेश गरिएको, जस्तै अमेरिकामा जन्मेका जो कोहीको लागि नागरिकताको अधिकार, कानुनी आप्रवासनलाई सीमित वा हटाउने प्रयास गरिरहेका छन् । हालै, सर्वोच्च अदालतले उनको जन्मसिद्ध नागरिकता चुनौतीको सुनुवाइ गर्न सहमति जनाएको छ।
ग्रिन कार्ड लटरी, आधिकारिक रूपमा डाइभर्सिटी भिसा कार्यक्रममार्फत प्रत्येक वर्ष हजारौं मानिसहरूलाई अमेरिकामा स्थायी बसोबास प्राप्त गर्ने अवसर प्रदान गर्दछ । यसको उद्देश्य अमेरिकामा कम आप्रवासीहरू भएका देशका नागरिकहरूलाई अवसर प्रदान गर्नु हो । डाइभर्सिटी भिसा कार्यक्रम अन्तर्गत, धेरै अफ्रिकी देशहरूसहित एशियाका देशहरुका अमेरिकामा कम जनसंख्या भएका देशहरूका मानिसहरूलाई लटरी मार्फत वार्षिक रूपमा लगभग ५० हजार ग्रिन कार्ड प्रदान गरिन्छ । २०२५ भिसा लटरीको लागि लगभग २ करोड मानिसहरूले आवेदन दिए ।
७- नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठक आगामी पुस २७ देखि २९ गते बस्ने भएको छ । विहिबार काठमाडौंमा आयोजित नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकमा महासचिव शंकर पोखरेलले दोस्रो बैठकको प्रस्ताव पेश गरेका हुन् । महासचिव पोखरेलले बैठक केन्द्रीय कमिटीको दोस्रो बैठक पुस २७, २८ र २९ मा काठमाडौं बस्ने प्रस्ताव गरेका हुन् ।
८- नेपाली कांग्रेसले अर्घाखाँचीबाट फागुन २१ गते हुने प्रतिनिधि सभाको प्रत्यक्ष र समानुपातिकमा उम्मेदवारहरू सिफारिस गरेको छ । जिल्ला कार्यसमितिको बैठकले प्रत्यक्षमा ८ जना र समानुपातिकमा ६ जना उम्मेदवार सिफारिस गरेको हो । त्यस्तै आगामी माघ ११ गते हुने राष्ट्रियसभाका लागि ३ जनाको नाम सिफारिस गरेको छ ।
प्रतिनिधिसभाको प्रत्यक्षतर्फ पूर्वमन्त्री रेवती प्रसाद भुसाल, प्रदेश सहमहामन्त्री विष्णु प्रसाद खनाल ‘मुस्कान’, पूर्व जिल्ला सभापति कमल प्रसाद भुसाल, छत्रदेव गाउँपालिकाका पूर्व अध्यक्ष लेखनाथ पोखरेल, डा. मुक्तिराम श्रेष्ठ, डा. जय बहादुर टण्डन, ताराप्रसाद श्रेष्ठ, पार्टी उपसभापति बाबुराम पौडेल सिफारिस भएका छन् ।
त्यसैगरी समानुपातिकमा पूर्व उपसभामुख पुष्पा भुसाल, निर्मला क्षेत्री, मणिराम परियार, ललिता सुनार, राजेन्द्र केसी र विष्णु प्रसाद अर्याल सिफारिस भएका छन् । यस्तै राष्ट्रियसभाका लागि पूर्व सांसद डा. राम बहादुर बिसी, पूर्व पार्टी सभापति पिताम्बर शर्मा भुसाल र पूर्व केन्द्रीय सदस्य बालकृष्ण पाण्डे सिफारिस भएका छन् ।
९- अभिनेता माओत्से गुरुङको निर्देशनमा बन्न लागेको ‘पेन्सन पट्टा’ को छायांकन सुरु गरिएको छ । बिहीबार कास्की जिल्लाको ताङतिङ गाउँमा शुभ मुहूर्त गरेपछि फिल्मका मुख्य दुई कलाकार पशुपति राई र गौमाया गुरुङले पहिलो सट दिएर छायांकनको शुरु गरिएको हो । फिल्मको सोही गाउँमा ३५ दिनसम्म छायांकन हुने निर्माण पक्षले जानकारी दिएको छ । निर्देशक गुरुङ स्वयंको लेखन रहेको यस फिल्ममा पशुपति र गौमायासहित दयाहाङ राई, सुनिल थापा, बुद्धि तामाङ, विल्सन विक्रम राई, सुनिल थापा, राज थापा काउछा, लुनिभा तुलाधर, यासिली राई लगायतको अभिनय रहनेछ । माओत्से गुरुङ फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्ममा मीन कोन्मे गुरुङ (सिकलेस), भोज बहादुर गुरुङ (बेलायत) र सपना गुरुङ निर्मातामा छन् ।
१०- उर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसवाट निर्माण हुने संरचनाको डिजाईन सम्बन्धि मार्गदर्शन, २०८२ विमोचन गरेका छन् । शहरी विकास मन्त्रालय र ह्याविटाट फर ह्युमानिटी नेपाल संस्थाको संयुक्त आयोजनामा भएको विमोचन कार्यक्रममा स्थानिय सरकारका जनप्रतिनिधी, ईन्जिनियरिङ्ग समुदायका विज्ञहरु समेतको उपस्थिति थियो । मन्त्री घिसिङले रैथाने नेपाली निर्माण सामाग्रीको रुपमा रहेको बाँसलाई निर्माण सामाग्रीको रुपमा प्रयोग गर्न प्रत्सोहान गर्नुपर्ने बताए ।
उनले निर्माण सामाग्रीको रुपमा बाँसलाई प्रयोग गर्न सकेमा रोजगारी सिर्जना भई ग्रामिण अर्थतन्त्र समेत मज्बुद हुन सक्ने तथा आयातित निर्माण सामाग्रीलाई निरुत्साहित गर्दै व्यापार घाटा कम गर्न समेत मदत गर्न सक्ने बताए । आकासवाट हेर्दा नेपालका बस्तीहरुको छानो जस्ताले ढाकेको देखिएकोमा उनले बाँसकै प्रयोगवाट जस्ताको विकल्प समेत खोज्न सुझाए । बाँसको व्यवसायिक खेतिलाई प्रोत्साहन गर्दे यसलाई हरित निर्माण सामाग्रीको प्रयोगले जलवायु परिवर्तनको प्रभावलाई न्यूनिकरण गर्दै अर्थतन्त्रमा सकरात्मक प्रभाव पार्ने कुरा बताए । उनले हाईड्रोपावरका कन्सट्रक्सन क्याम्पहरु निर्माणमा समेत बाँसको प्रयोग गरिनुपर्ने बताए ।
ह्याविटाट फर ह्युमानिटी नेपाल प्रमुख एलिजा स्थापितले मार्गदर्शन जारी भएकोमा खुसी व्यक्त गर्दै यस ऐतिहासिक कार्य प्रति शहरी विकास मन्त्रालयलाई बधाई एवम् धन्यवाद दिदै उनले भविष्यमा बाँसको प्रबद्र्धनात्मक कार्यहरुमा संस्थावाट सदैब सहयोग रहने कुरा व्यक्त गरे । मार्गदर्शनले बाँसको कटाई, ग्रेडिङ्ग, रासायनिक उपचार, भण्डारण र प्रयोगकालगायतका विषयमा स्पष्ट मापदण्ड तोकेको छ । बाँसको प्रयोगद्धारा भूकम्प प्रतिरोधी, वातावरणमैत्री र लागत–किफायती संरचना निर्माण गर्न सकिने सरल तथा सहज ढंगको डिजाइन विधि र आवश्यक विस्तृतीकरणसहित घरका नमुना डिजाइन समावेश गरिएको छ ।
११- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई धरौटी बुझाउने २ करोडको स्रोत खुलाउन आग्रह गरेका छन् । साम्पाङले सामाजिक सञ्जालमा लेख्दै लामिछानेलाई अदालतमा बुझाउने २ करोडको स्रोत खुलाउन आग्रह गरेका हुन् । उनले भनेका छन्- ‘बुझाइने २ करोडको स्रोत खुलाउनु होला ! जय सुशासन !’ रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी र संगठित अपराधको अभियोगमा पूर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई बिहीबार उच्च अदालतले सर्तहरूसहित धरौटीमा थुनामुक्त गर्न आदेश दिएको थियो । लामिछाने आज भैरहवा पुगेर धरौटीमा रिहा भएका छन् ।
१२- बलिवुड अभिनेता रणवीर सिंहको फिल्म ‘धुरन्धर’ ले रिलिजको दुई सातामा पनि घरेलु बक्स अफिसमा शानदार कमाई जारी राखेको छ । फिल्मले घरेलु बक्स अफिसमा रिलिजको दुई सातामा ४७९.५० करोड कमाई गरेको छ । बलिवुड फिल्म विश्लेषक तरण आदर्शका अनुसार पहिलो सातामा भारतमा मात्र २१८ करोड भारु कमाई गरेको फिल्मले दोस्रो सातामा २६१.५० करोड कमाई गरेको छ । फिल्मले विहिबार मात्र २५.३० करोड कमाई गरेको थियो ।
फिल्मले पहिलो साताको पहिलो तीन दिन भन्दा दोस्रो साताको पहिलो तीन दिनमा बढी कमाई गरेको छ । फिल्मको सामाजिक सञ्जाल र मिडियामा सकारात्मक प्रचार भएको फाइदा बक्स अफिसमा देखिएको छ । त्यस्तै फिल्मले भारत बाहिर पनि शानदार कमाई गरिरहेको छ । फिल्मले पहिलो साता विदेशी बक्स अफिसमा १२० करोड भन्दा बढी भारु कमाएको छ । रणवीर सिंहको ‘धुरन्धर’ लाई वर्षको सबैभन्दा ठूलो फिल्म मानिएको छ ।
फिल्ममा रणवीर सिंहसहित संजय दत्त, अक्षय खन्ना, आर. माधवन, अर्जुन रामपाल, सारा अर्जुन र राकेश बेदीको प्रमुख भूमिका रहेको छ । फिल्मलाई आदित्य धरले निर्देशन गरेका हुन् भने फिल्ममा रणवीर सिंहको पनि लगानी रहेको छ । त्यस्तै यस फिल्मको डिजिटल अधिकार नेटफ्लिक्सले किनेको छ । आधिकारिक ओटीटी रिलीज मिति भने अझै घोषणा गरिएको छैन । यस फिल्मको लागत करिब २२० करोड भारु भएको बताइएको छ । जसमा फिल्मले सिनेमा हल बाहेक विभिन्न अधिकार बिक्री गरेर ११० करोड कमाई गरिसकेको छ ।
१३- बढ्दो मुद्रास्फीति र जीवनयापनको लागतको दबाबका बीचमा जापानको केन्द्रीय बैंकले आफ्नो प्रमुख ब्याजदर ३० वर्षमा सबैभन्दा उच्च स्तरमा पुर्याएको छ । शुक्रबार लिइएको निर्णयमा, बैंक अफ जापानको नीति बोर्डले बेन्चमार्क ब्याजदर एक चौथाई प्रतिशत बिन्दुले बढाएको छ । ब्याजदर त्यसबेलादेखि लगभग ०.७५ प्रतिशत पुगेको छ । बैंकका गभर्नर काजुओ उएदाले बैठकको नेतृत्व गरेका थिए । जापानका नयाँ प्रधानमन्त्री साने ताकेचीले मुद्रास्फीति नियन्त्रण गर्न खोज्दा यो निर्णय आएको हो । यसबाहेक, साने ताकेची र काजुओ उएदाले आफ्नो वर्तमान पद ग्रहण गरेपछि यो पहिलो दर वृद्धि हो । बैंकले अन्तिम पटक यस वर्ष जनवरीमा ब्याजदर बढाएको थियो र विगत छ मौद्रिक नीति बैठकहरूमा यसलाई ०.५ प्रतिशतमा अपरिवर्तित राखेको थियो ।
१४- अस्ट्रेलियाको सिड्नी बोन्डी बीच आक्रमणपछि अष्ट्रेलियाली सरकारले बन्दुक फिर्ता गर्ने योजना घोषणा गरेको छ । बोन्डी आतंकवादी हमलापछि राज्य र क्षेत्रहरूले विचार गरिरहेको बलियो बन्दुक कानून अन्तर्गत अष्ट्रेलियाली नागरिकहरूले मात्र बन्दुकको इजाजतपत्र राख्न सक्नेछन् । संघीय सरकारले बन्दुक आयातका लागि सम्भावित भन्सार प्रतिबन्धहरूमा पनि काम सुरु गर्नेछ, जसमा थ्रीडी प्रिन्टिङ, नयाँ प्रविधि र ठूलो मात्रामा गोला बारुद राख्न सक्ने बन्दुक उपकरणहरू समावेश छन् ।
गत हप्ताको आक्रमणलाई दशकौंमा यस क्षेत्रमा भएको सबैभन्दा घातक सामूहिक गोलीकाण्ड मानिएको छ । यो योजना १९९६ को पोर्ट आर्थरमा भएको सामूहिक गोलीकाण्डपछिको सबैभन्दा ठूलो हो । पोर्ट आर्थर आक्रमणमा ३५ जनाको मृत्यु भएको थियो, जसले गर्दा अष्ट्रेलियाले विश्वका केही कडा बन्दुक नियन्त्रण कानूनहरू लागू गर्न बाध्य भएको थियो । आइतबार, बोन्डी बीचको यहूदी उत्सवमा दुई बन्दुकधारीहरूले गोली चलाउँदा १५ जनाको मृत्यु भयो र दर्जनौं घाइते भए । आक्रमणकारीहरू ‘अतिवादी संगठन इस्लामिक स्टेटको विचारधारा’ बाट प्रेरित भएको विश्वास गरिएको छ । यसैबीच, शुक्रबार, प्रहरीले सिड्नीमा ‘अतिवादी इस्लामिक विचारधारा’ को आरोपमा पक्राउ परेका केही व्यक्तिहरूलाई अब हिरासतमा राख्नु नपर्ने बताएको छ ।
१५- भारतको राज्यसभाले रोजगार तथा जीविकोपार्जन मिशन (ग्रामीण) भीबी- जी रामजी विधेयक पारित भएपछि सांसदहरुले रातभर विपक्षी दल संसद भवनमै धर्ना दिएका छन् । लोकसभाले पहिले नै अनुमोदन गरेको यो विधेयकलाई गएराती राज्यसभाले पार्टी गरेको थियो । यो विधेयकले महात्मा गान्धी राष्ट्रिय ग्रामीण रोजगार ग्यारेन्टी ऐन (मनरेगा) लाई प्रतिस्थापन गर्दछ । नयाँ कानूनले ग्रामीण परिवारहरूको लागि वार्षिक १२५ दिनको ज्याला रोजगारीको व्यवस्था गर्दछ ।
विपक्षी दलले विधेयकलाई चयन समितिमा पठाउन माग गरिरहेको समयमा सदनमा विपक्षीको अनुपस्थितिमा ध्वनि मतले विधेयक पारित गरिएको थियो । विधेयक पारित भएपछि, कांग्रेस, तृणमूल कांग्रेस र द्रमुक लगायत धेरै विपक्षी दलका सांसदहरूले संसद परिसरमा विरोध प्रदर्शन गरे । तृणमूल कांग्रेस राज्यसभा उपनेता सागरिका घोषले मोदी सरकारले जबरजस्ती विधेयक पारित गरेको आरोप लगाएकी छन् । उनले कानून गरिब, किसान र ग्रामीण भारतको विरुद्धमा छ रहेको बताएकी छन् । कांग्रेस अध्यक्ष मल्लिकार्जुन खरगेले सरकारमाथि कडा आक्रमण गर्दै १२ करोड जनताको जीविकोपार्जनलाई सहयोग गर्ने योजनालाई भत्काइएको आरोप लगाए । सरकारको तर्फबाट केन्द्रीय कृषि मन्त्री शिवराज सिंह चौहानले यो विधेयक गरिबहरूको कल्याणको लागि हो र यसले रोजगारीका अवसरहरू बढाउने बताएका छन् ।
विधेयक अनुसार, ग्रामीण परिवारका वयस्क सदस्यहरूले अकुशल श्रमको लागि १२५ दिनको रोजगारी पाउनेछन् । केन्द्र र राज्यहरू बीचको कोष बाँडफाँड अनुपात ६०:४० हुनेछ । उत्तरपूर्वी र पहाडी राज्यहरूको लागि, यो ९०:१० हुनेछ । विधेयक दुवै सदनबाट पारित भएपछि राष्ट्रपतिको अनुमोदनका लागि पठाइनेछ । विपक्षीले संसद बाहिर आफ्नो लडाइँ जारी राख्ने बताएका छन् । आज बिहान संसद परिसरका हुन्। संसदका दुवै सदनमा पारित विधेयकको विरोधमा तृणमूल कांग्रेसका सांसदहरूले रातभर विरोध प्रदर्शन गरेका छन् । तृणमूल कांग्रेसका सांसदहरू गए राति १२ बजेदेखि संसद भवनमै १२ घण्टाको धर्नामा बसेका छन् ।
१६- नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मुल्य तोलाको २ हजारले घटेर तोलाको २ लाख ५८ हजार ४ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको २ लाख ६० हजार ४ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ७५ रुपैयाँले घटेर ४००५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको ४०८० मा कारोबार भएको थियो ।
१७- बंगलादेशमा शेख हसिनाका विरोधी नेताका रुपमा परिचित विपक्षी नेता उस्मान हादीको बिहीबार राति गोली हानी हत्या भएपछि तनाव बढेको छ । ढाकाबाट स्वतन्त्र उम्मेदवार बन्ने आकांक्षी हादीलाई डिसेम्बर १२ मा ढाकाको पल्टन क्षेत्रमा ब्याट्रीबाट चल्ने अटोरिक्सामा सवार रहेको बेला गोली हानिएको थियो । उनलाई पहिले ढाका मेडिकल कलेज अस्पताल लगिएको थियो र पछि उनको अवस्था बिग्रँदै गएपछि एभरकेयर अस्पताल लगिएको थियो । गत शनिबार, उनको थप उपचारको लागि हेलिकप्टरबाट सिंगापुर लगिएको थियो । सिंगापुरमा उनको गएराती उपचारको क्रममा निधन भएको थियो ।
हादीको मृत्युले बंगलादेशको अवस्था झनै बिग्रिएको छ, धेरै स्थानमा हिंसा फैलिएको छ । प्रदर्शनकारीहरू देशका ठूला अखबारहरू, डेली स्टार र प्रोथोम आलोको कार्यालयमा जबरजस्ती प्रवेश गरेर तोडफोड र आगजनी गरेका छन् । आगलागिपछि बंगलादेशका दुवै अखबारहरू आज बन्द रहनेछन्, अनलाइन सेवाहरू पनि प्रभावित बनेका छन् । हाल ढाका भित्र र बाहिर धेरै जिल्लाहरूमा उस्मान हादीका समर्थकहरू र विद्यार्थी संगठनका नेता तथा कार्यकर्ताहरू सडकमा उत्रिएका छन् । चटगाउँमा पनि धेरै ठाउँमा विरोध प्रदर्शनहरू भएका छन् । यसबाहेक, शेख हसिनाको अवामी लिग सरकारमा पूर्व शिक्षामन्त्री मोहिबुल हसन चौधरीको घरमा तोडफोड गरियो र आगजनी गरिएको थियो । हादी २०२४ को विद्यार्थी आन्दोलनका प्रमुख नेताहरूमध्ये एक थिए । डिसेम्बर १२ मा ढाकामा चुनाव प्रचार गर्दा उनको टाउकोमा गोली लागेको थियो ।
१८- मनोरञ्जन जगतको सबैभन्दा प्रतिष्ठित पुरस्कार समारोह, ओस्करको लागि एउटा ठूलो परिवर्तन हुन लागेको छ । २०२९ देखि ओस्कर अब युट्युबमा विशेष रूपमा प्रत्यक्ष प्रसारण हुने भएको हो । यो आधिकारिक रूपमा ओस्कर प्रदान गर्ने संस्था एकेडेमी अफ मोशन पिक्चर आर्ट्स एण्ड साइन्सेसले घोषणा गरेको छ । ओस्करको २०२८ सम्मको प्रशारण अधिकार एबीसी च्यानलसँग रहेको छ । ओस्कर यसको १००औं वार्षिकोत्सव (२०२८) सम्म एबीसी टिभी च्यानलमा प्रसारण जारी रहनेछ ।
२०२९ मा, एबीसी र ओस्कर बीचको लामो समयदेखिको साझेदारी समाप्त हुनेछ र कार्यक्रम पूर्ण रूपमा युट्युबमा सर्ने भएको हो । युट्युबले मुख्य ओस्कार कार्यक्रम मात्र नभई धेरै अन्य कार्यक्रमहरू पनि प्रस्तुत गर्नेछ, जस्तै: गभर्नर पुरस्कार, ओस्कार मनोनयन घोषणा, ओस्कार मनोनयन लन्च, विद्यार्थी एकेडेमी पुरस्कार, वैज्ञानिक र प्राविधिक पुरस्कार, फिल्म निर्माता अन्तर्वार्ता, पोडकास्ट, र फिल्म-सम्बन्धित शैक्षिक भिडियोहरूलगायत यसका साथै, एकेडेमीका विगतका कलाकृतिहरू र अभिलेखहरू गुगल कला र संस्कृति मार्फत डिजिटल रूपमा अनलाइन उपलब्ध गराइनेछ । एकेडेमीका सीईओ बिल क्रेमर र अध्यक्ष लिनेट होवेल टेलरले युट्युबसँगको यो साझेदारीले हामीलाई विश्वव्यापी दर्शकहरूसम्म पुग्न मद्दत गर्ने बताए ।
१९- टिकटकले अमेरिकमा आफ्नो स्वामित्व बेच्न लगानीकर्ताको समुहसँग हस्ताक्षर गरेको छ । सिएनएनका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पको योजना अनुसार टिकटकले अमेरिकी लगानीकर्ताहरूको समूहसँग नयाँ संस्था सिर्जना गर्न सम्झौता गरेको हो । टिकटकका प्रमुख कार्यकारी अधिकृत शौ च्यूले कर्मचारीहरुलाई जारी गरेको मेमोमा सो जानकारी दिएका हुन् । यद्यपि यो शुरुवाती चरणमा रहेको र यसको बिस्तृत विवरण बाहिर आयेक्को छैन ।
यो कदमले टिकटकलाई अमेरिकामा यसको दीर्घकालीन भविष्य सुरक्षित गर्ने भएको छ । अमेरिकामा गत वर्ष पारित कानूनले टिकटकको अमेरिकी संस्करणलाई यसको मूल कम्पनी, बाइटडान्सबाट अलग गर्न वा अमेरिकामा प्रतिबन्ध लगाउन आवश्यक पर्ने व्यवस्था गरेपछि यस्तो कदम चालिएको हो । ट्रम्पले टिकटकको नियन्त्रण अमेरिकी स्वामित्वमा हस्तान्तरण गर्न पटक पटक समय थप गर्दै मौका दिएका थिए । मेमोमा च्युले भनेका छन्- ‘हामीले नयाँ टिकटक अमेरिकी संयुक्त उद्यमको बारेमा लगानीकर्ताहरूसँग सम्झौतामा हस्ताक्षर गरेका छौं, जसले १७ करोड भन्दा बढी अमेरिकीहरूलाई महत्त्वपूर्ण विश्वव्यापी समुदायको भागको रूपमा अनन्त सम्भावनाहरूको संसार पत्ता लगाउन जारी राख्न सक्षम बनाउँछ ।’
सम्झौता अन्तर्गत, अमेरिकी टिकटक एप नयाँ संयुक्त उद्यमद्वारा नियन्त्रित हुनेछ, जसको ५० प्रतिशत टेक कम्पनी ओरेकल, निजी इक्विटी फर्म सिल्भर लेक र एमिरेट्स-समर्थित लगानी फर्म एमजीएक्स सम्मिलित लगानीकर्ताहरूको समूहको स्वामित्वमा हुनेछ । संयुक्त उद्यमको ३० प्रतिशत भन्दा बढी भाग बाइटडान्समा अवस्थित लगानीकर्ताहरूको सम्बद्धहरूद्वारा राखिनेछ र १९.९ प्रतिशत भाग बाइटडान्सले राख्ने बताइएको छ । यस सम्झौता अन्तिम रूप पाउनु अघि अझै धेरै काम गर्न बाँकी रहेको र जनवरी २२, २०२६ सम्ममा सम्झौतालाई अन्तिम रुप दिने बताइएको छ । ट्रम्प प्रशासनले सेप्टेम्बरमा टिकटकको अमेरिकी सञ्चालनको नियन्त्रण प्रायः अमेरिकी लगानीकर्ताहरूको समूहलाई हस्तान्तरण गर्न चीनसँग सम्झौतामा पुगेको बताएको थियो ।
जनवरीमा प्राविधिक रूपमा लागू भएको अमेरिकी कानूनले जबसम्म बाइटडान्सले आफ्नो अमेरिकी सम्पत्तिको लगभग ८० प्रतिशत गैर-चिनियाँ लगानीकर्ताहरूलाई विनिवेश गर्दैन तब सम्म यसको संचालनलाई प्रतिबन्ध लगाउने व्यवस्था गरेको छ । नयाँ संस्थाले अमेरिकी प्रयोगकर्ता डेटामा टिकटकको एल्गोरिथ्मलाई नयाँ किसिमले सेट गर्ने र ओरेकलले अमेरिकीहरूको डेटा भण्डारणको निरीक्षण गर्ने बताइएको छ ।
बाइटडान्स-नियन्त्रित विश्वव्यापी टिकटक संस्थाले नयाँ अमेरिकी प्लेटफर्ममा ई-वाणिज्य, विज्ञापन र मार्केटिंग व्यवस्थापन गर्न जारी राख्नेछ । सम्झौताले अन्तिम रुप पाउनु अघि यसमा चिनियाँ सरकारबाट अनुमोदन आवश्यक पर्ने अपेक्षा गरिएको छ । ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङ सम्झौतामा सहमत रहेको बताए पनि, बेइजिङले आधिकारिक रूपमा उनको अनुमोदन पुष्टि गरेको छैन । टिभीमा अवार्ड कार्यक्रमहरूको दर्शक संख्या घटिरहेको समयमा एकेडेमी अफ मोशन पिक्चर आर्ट्स एण्ड साइन्सेसले यस्तो कदम चालेको बुझिएको छ । टिभीका दर्शक घटिरहेकै कारणविश्वका प्रमुख अवार्ड कार्यक्रमहरू स्ट्रिमिङ प्लेटफर्महरूमा सरिरहेका छन् । यसअघि पहिले, नेटफ्लिक्सले २०२३ मा साग अवार्डहरूको अधिकार प्राप्त गरेको थियो, जुन ओस्कारको अग्रदूत मानिन्छ ।
२०- नेकपा एमाले नेता ठम्मर विष्टले केन्द्रीय सदस्यमा पराजित भएपछि पार्टी परित्याग गरेका छन् । एमालेको ११औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा पराजित भएपछि विष्टले बिहीबार सामाजिक सञ्जालमा लामो स्ट्याटस लेख्दै राजीनामा दिएका हुन् । उनले पार्टीको आन्तरिक लोकतन्त्र, नेतृत्व शैली र मूल्य-मान्यतामा गम्भीर विचलन रहेको राजीनामामा उल्लेख गरेका छन् । उनले मङ्सिर २४ गते केपी शर्मा ओलीलाई भेट्दा एउटा दासले मालिकको व्यवहार जस्तो उल्लेख गर्दै आफुलाई सम्मानित अध्यक्षको अगाडी छु वा कुनैं मालिकको अगाडी क्षमा दानको लागी बिन्ती बिसाउन उपस्थित भएको छु भन्ने अनुभूति भएको लेखेका छन् ।
विष्टले ओली सरकारमा रहेको समयमा देशमा भएको ध्वंशात्मक मानवीय र भौतिक क्षतिको जवाफ दिनु पर्नेमा उल्टै अधिनायकवादी शैलीमा आन्दोलनकारी, शहीद, घाइते र आम जनतालाई आलो घाउमा नुन चुक छर्ने काम गरिरहेको आरोप लगाउदै ओली पार्टीलाई एकताबद्ध बनाएर लैजाने कुनै लयमा नदेखिएको बताएका छन् । उनले ओली व्यक्तिवादी अराजकतातिर गैरहेको भन्दै ओलीको बेलगाम अभियानलाई प्रकारान्तरले संस्थागत गर्ने कामकै पक्षपोषण र भबिस्यमा समेत रुपान्तरणको कुनै गुन्जायस नदिएको बताएका छन् ।
उनले पार्टी नेतृत्व भावना, बिचार र मुल्य मान्यतावाट पुरै स्खलीत भएको अवस्थामा यस संस्थामा रहेर बाँकी आफनो समय बर्बाद हुने, जनता प्रति उत्तरदायी बन्न नसकिने र पुर्ण रुपेण आदर्श मुल्य मान्यतावाट च्युत हुदै जादा संस्थागत मात्र नभई ब्यक्तिगत रुपमा समेत जन कठघरामा ढिलो छिटो जवाफदेही हुनु पर्ने बाध्यात्मक अवस्था सृजना हुने भएकाले पार्टीमा सम्पुर्ण जिम्मेवारीसहित पार्टी सदस्यवाट समेत राजीनामा दिएको घोषणा गरेका छन् ।
FACEBOOK COMMENTS