काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले काठमाडौँको खुला मञ्चलाई तत्काल खुला गर्न सरकार र महानगरपालिकासँग जोडदार माग गरेका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले एक लाख मानिस अट्ने मैदान देशमा नहुनु नेपाल राष्ट्रकै लागि लज्जाको विषय भएको बताए । उनले राजनीतिक दलले एक लाख मानिस उतारेर कार्यक्रम गर्न नपाउनु अपमानजनक भएको उल्लेख गरे ।
उनले भने, ‘सबैभन्दा पहिला त म नेपाल सरकार र महानगरपालिकालाई यो खुला मञ्च खुला गर्नका लागि आग्रह गर्न चाहन्छु, जोडदार ढङ्गले सम्पूर्ण जनसमुदायको तर्फबाट तपाईंहरूलाई आग्रह गर्दछु । किनकि, यो नेपाल राष्ट्रकै निम्ति अपमानको विषय हो ।
एउटा एक लाख मानिस जम्मा भएर बस्ने चौर हामीकहाँ नहुनु नेपाल देशकै निम्ति लज्जाको विषय भएको छ । महानगरपालिकाको जिम्मेवारी लिएका प्रतिनिधि र सरकारलाई सबैभन्दा पहिला जोडदार माग गर्न चाहन्छु ।’
उनको भनाइअनुसार काठमाडौं उपत्यकाका अन्य स्थानहरू राजनीतिक दलहरूलाई कार्यक्रम गर्नका लागि सानो भएका छन् । सम्बोधनका क्रममा संयोजक दाहालले सबै वामपन्थी कम्युनिस्टहरू एकताबद्ध हुनुपर्नेमा समेत जोड दिए ।

FACEBOOK COMMENTS