काठमाडौं । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टेलिभिजन तथा अनलाइन पत्रकारिताको पेसागत सुरक्षा र संस्थागत विकासका लागि दर्ता र सूचीकरणको काम तत्काल थाल्ने बताएका छन् ।
अनलाइन टेलिभिजन पत्रकारहरूसँग आज मन्त्रालयमा भएको छलफलमा उनले अनलाइन टेलिभिजन र त्यसमा कार्यरत पत्रकारलाई मूलधारका सञ्चार माध्यमसरह राज्यले दिने सुविधा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताए ।
सञ्चारमन्त्री खरेलले अनलाइन टेलिभिजन र त्यसमा कार्यरत सञ्चारकर्मीको यकिन तथ्याङ्कसमेत सरकारसँग नभएका कारण लोककल्याणकारी विज्ञापनलगायत राज्यका तर्फबाट उपलब्ध हुने सुविधाबाट वञ्चित हुनुपर्ने अवस्था आएको उल्लेख गरे । उनले यस्तो अवस्था अन्त्यका लागि सरकारले अनलाइन टेलिभिजन दर्ता र सूचीकरणको काम तत्काल थाल्ने बताए ।
FACEBOOK COMMENTS