काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका मन्त्री कुलमान घिसिङले तोकिएको मिति आगामी फागुन २१ मा निर्वाचन हुन नसक्ने छनक दिएका छन् ।
खासगरी पुराना भनिएका नेकपा एमालेलगायत राजनीतिक दलहरूले निर्वाचनका लागि उपयुक्त वातावरण नबनेको भन्दै तोकिएको मितिमा चुनाव हुन नसक्ने दाबी गरिरहेका बेला क्याबिनेट मन्त्रीले नै यस्तो सङ्केत गरेका हुन् ।
मन्त्रालयको जिम्मेवारी सम्हालेको १०० दिन पुगेको अवसरमा आज बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी १०१ कामको फिहरिस्त सुनाएका मन्त्री घिसिङले समयमै निर्वाचन हुने कुरामा आफू स्वयम् विश्वस्त नरहेको ‘शारीरिक हाउभाउ’ प्रस्तुत गरे । ‘तपाइँ संरक्षक रहेर पार्टी खोल्नुभएको छ, पदमै रहेर चुनाव लड्नुहुन्छ कि मन्त्रीबाट राजीनामा दिनुहुन्छ’ भनेर पत्रकारले सोधेको प्रश्नमा मन्त्री घिसिङले भने, ‘जुन बेला हामी चुनावमा जान्छौँ, त्यतिबेला उपयुक्त निर्णय गर्छौँ ।’
उनको त्यो जवाफले निर्वाचनको सुनिश्चितता नभएको छनक दिएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार आगामी माघ ६ गते बिहान १० देखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । तर, मन्त्री घिसिङले भने उक्त मिति नै थाहा नभएजसरी अमूर्त शैलीमा जवाफ दिए । यसको अर्थ फागुन २१ मा निर्वाचन हुने कुरामा मन्त्री घिसिङ स्वयम् विश्वस्त नरहेको बुझ्न सकिन्छ ।
त्यसो त ‘जुन बेला हामी चुनावमा जान्छौँ, त्यतिबेला उपयुक्त निर्णय लिन्छौँ’ भनिसकेपछि उनले ‘जुन बेला हामी चुनावमा जान्छौँ नोमिनेसनका लागि’ भनेर अड्किदै शब्द थपेर चिप्लिएको बोलीलाई समेट्ने प्रयास भने गरे । उनले भने, ‘एउटा मन्त्रीको हैसियतमा आइसकेपछि राजनीतिमा म इन्ट्री भएँ भनेर भनेकै छु । मन्त्री हुँदैदेखि मैले भनेको छु, ‘पोलिटिकल फर्म’मा अब इन्ट्री भएँ भनेको छु । अहिले मन्त्रीको हिसाबमा जिम्मेवारी बहन गर्दै अगाडि बढेको छु । र, उपयुक्त समयमा, जुन बेला हामी चुनावमा जान्छौँ नोमिनेसनका लागि समय आउँछ, सबै कुरा आउँछ, उपयुक्त समयमा हामी आवश्यक निर्णय गर्छौँ । उपयुक्त समयमा आवश्यक निर्णय भनेपछि तपाइँहरू (पत्रकार) ले बुझ्नुहोला ।’

त्यतिमात्र होइन, उनले अर्को प्रसङ्गमा पनि चुनावको अनिश्चितताबारे उजागर गरेका छन् । ‘चुनावमा नयाँ शक्तिहरू एक्लाएक्लै लड्ने कि मिलेर जाने’ भन्ने प्रसङ्गको जवाफ दिँदै उनले भने, ‘चुनावमा जाने भनेपछि सबै नयाँ शक्तिहरू मिलेर जानुपर्छ भन्नेमा हामी एक छौँ ।’ अर्थात् अहिले चुनाव हुने/नहुने टुङ्गो छैन, चुनाव हुने नै भयो भने ‘हामीहरू सकेसम्म मिल्छौँ’ भन्ने उनको भनाइ थियो ।

उनका ती दुई ‘शारीरिक हाउभाउ’लाई केलाउने हो भने चुनावको सुनिश्चितता अहिले भइसकेको छैन र यस्तो अवस्थामा सजिलै आएको मन्त्री पद किन त्याग गर्ने भन्ने मनसाय बुझिन्छ । अन्यथा यो गैरदलीय नागरिक सरकार हो, जसको एउटै मात्र उद्देश्य निर्वाचन गरी जनप्रतिनिधिलाई सत्ता हस्तान्तरण हो । तर, उनी नागरिक भएर सरकारमा छिरेर दलको संरक्षक भएर काम गरिरहेका छन् । यसबाट निर्वाचनको निष्पक्षतामाथि समेत प्रश्न उठ्न सक्छ ।

देशको विकासका लागि, अहिलेको परिवर्तन संस्थागत गर्न र आगामी चुनावपछि सही नेतृत्व ल्याउनका लागि नयाँ शक्तिहरू मिलेरै चुनावमा जानुपर्नेमा भने उनले आफ्नो स्पष्ट धारणा राखेका छन् । ‘अहिलेको सरकार चुनाव गर्ने सरकार, यसको मुख्य कार्यभार चुनाव गर्ने हो, त्यसबाहेक अरु पनि काम छन्, तर चुनावलाई सम्पन्न गर्नु छ,’ उनले भने, ‘चुनावमा जाने भनेपछि सबै शक्तिहरू, सबै नयाँ शक्तिहरू मिलेर जानुपर्छ भन्नेमा हामी एक छौँ । यसमा मेरो भनाइ– देशका लागि, अहिलेको परिवर्तन संस्थागत गर्न र आगामी चुनावपछिको नेतृत्वहरू सही आउनका लागि सबैले आफ्नो–आफ्नो क्षेत्रबाट जुनसुकै परिस्थितिमा पनि योगदान पुर्याउनुपर्छ । जस्तोसुकै योगदान गर्न पनि पछि हट्न हुँदैन । त्यसका लागि नयाँ शक्तिहरू सबै मिल्नुपर्छ ।’

यो पनि पढ्नुहोस्–

FACEBOOK COMMENTS