काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई दृष्टिगत गर्दै सातै प्रदेशका प्रमुख सचिव र सुरक्षा अधिकारीहरूसँग विशेष छलफल गरेका छन् ।
बैठकमा गृहमन्त्री अर्यालले राष्ट्रिय सुरक्षाका चुनौतीहरूको मूल्याङ्कन गर्दै, प्रदेश तहबाटै सूचना सङ्कलन र विश्लेषण गरी शान्ति सुरक्षालाई थप भरपर्दो र मजबुत बनाउन निर्देशन दिएका थिए ।
गृहसचिव राज कुमार श्रेष्ठको उपस्थितिमा भएको यस बैठकमा सीमा सुरक्षा, अपराध नियन्त्रण र विद्यमान सुरक्षा अवस्थाबारे विस्तृत समीक्षा गरिएको थियो । मन्त्री अर्यालले निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न कर्मचारीहरूले परम्परागत प्रशासकको साटो सहजकर्ता, समन्वयकर्ता र उत्प्रेरकको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।
उनले सङ्घ र प्रदेशबीचको समन्वयात्मक भूमिकालाई प्रभावकारी बनाउँदै, कानुनले दिएको अधिकार प्रयोग गरेर सुरक्षाकर्मीको मनोबल उच्च राख्न आग्रह गरे । साथै, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र सहकार्यको माध्यमबाट समाजलाई गतिशील बनाउँदै संविधानको मर्म अनुरूप सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिए ।
सोही अवसरमा गृह सचिव राज कुमार श्रेष्ठले विगतका निर्वाचनका अनुभव र कमजोरीहरूबाट पाठ सिक्दै, भौगोलिक तथा सुरक्षा संवेदनशीलता पहिचान गरी ुनिर्वाचन कमान्ड पोस्टु मार्फत चुस्त सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिए ।

उनले राजनीतिक दलहरूसँग समन्वय गरी स्वतन्त्र निर्वाचनका लागि ‘प्रोयाक्टिभ’ भएर काम गर्न सुझाव दिए । बैठकमा कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र मधेश प्रदेशका प्रमुख सचिवहरू, आन्तरिक मामिला मन्त्रालयका सचिवहरू र सुरक्षा निकायका उच्च पदस्थ अधिकारीहरूको सहभागिता रहेको थियो ।


FACEBOOK COMMENTS