काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टीको पक्षमा व्यापक जनमत सिर्जना गर्न जनसंगठनहरूलाई निर्देशन दिएका छन् ।
पार्टी केन्द्रीय कार्यालयमा शुक्रबार सम्पन्न जनसंगठन समन्वय संयन्त्रको बैठकमा महासचिव पोखरेलले जनसंगठनहरू निर्वाचन अभियानको अग्रपङ्क्तिमा उभिनुपर्ने आवश्यकता औँल्याएका हुन् ।
महासचिव पोखरेलले फागुन २१ को निर्वाचन सामान्य राजनीतिक प्रतिस्पर्धा मात्र नभई वर्गसंघर्षको लडाइँ भएको उल्लेख गर्दै पार्टीको नीति, विचार र उपलब्धिलाई जनतामाझ प्रभावकारी ढङ्गले पुर्याउने जिम्मेवारी जनसंगठनकै काँधमा रहेको स्मरण गराए ।
केन्द्रबाट तय गरिएका योजनाहरू स्थानीय तहसम्म कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिँदै पोखरेलले निर्वाचन केन्द्रित बैठक, अभियान र संवादलाई तीव्र बनाउन आग्रह समेत गरे ।
एमालेले सामाजिक सञ्जालको प्रभावकारी परिचालनमार्फत पार्टीको पक्षमा जनमत निर्माण गर्नुपर्नेमा विशेष जोड दिँदै आएको छ । पार्टीको सर्कुलरअनुसार सबै जनसंगठनहरू परिचालित भई युवासहित विभिन्न वर्ग, समुदाय र पेसागत समूहमा पार्टीको सन्देश सशक्त रूपमा पुर्याउनुपर्ने महासचिव पोखरेलको भनाइ छ ।

बैठकमा महासचिव पोखरेलले भदौ २३ र २४ गते भएका घटनाहरू स्वत:स्फूर्त नभई योजनाबद्ध रहेको दाबी गर्दै ती घटनामा संलग्नहरूको फुटेज सार्वजनिक भइसकेकाले त्यस विषयलाई लिएर जनतामाझ जानुपर्ने आवश्यकता औँल्याए । बैठकले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै पार्टीको पक्षमा व्यापक जनमत सिर्जना गर्ने लक्ष्यसहित जनसंगठनको भूमिकालाई अझ सशक्त बनाउने निष्कर्ष निकालेको छ ।

FACEBOOK COMMENTS