साउन ३२, आइतवार – प्रहरीले जुवा खेलिरहेको अवस्थामा करिब ३ लाख रकमसहित ७ जना जुवाडेलाइ बाराबाट पक्राउ गरेको छ। सिमरास्थित सगुन होटलको तेस्रो तल्लाको कोठा नं २०५ बाट बारा, सर्लाही, सल्यान र सिन्धुपाल्चोकका गरी ७ जना जुवाडेलाई कौडा खेलिरहेको अवस्थामा रंगेहात पक्राउ गरिएको बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी गराए।
गोप्य सूचनाको आधारमा शनिवार साँझ इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक सूर्यबहादुर राना मगरको नेतृत्वमा गएको प्रहरीको टोलीले १६ थान कौडासहित ७ जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा बारा जितपुरसिमरा उप महानगरपालिका १५ बस्ने मान बहादुर लोप्चन, सोही स्थानका मान बहादुर गुरुङ, परवानीपुर गाउँपालिका ८ बस्ने जयराम दास, कलैया २ बस्ने बिनोद प्रसाद यादव, सर्लाही बागमती नगरपालिका १ बस्ने तारा कुमार श्रेष्ठ, सल्यान बढीमालिका नगरपालिका ८ बस्ने भूबन चन्द र सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ७ बस्ने पदम नेवार रहेका छन्।
उनीहरुको साथबाट प्रहरीले नगद २ लाख ९१ हजार ५ सय रुपैयाँ नगद समेत बरामद गरेको छ । पक्राउ परेका सबैलाई प्रहरी नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए।
FACEBOOK COMMENTS