काठमाडौं । एसवाई इन्टरटेन्मेन्ट प्रालिको आयोजनामा सम्पन्न ‘फेस अफ एसवाई २०८२’ (ब्रान्ड एम्बासडर हन्ट) को उपाधि मलैसा आचार्यले जितेकी छन् । प्रतियोगिताको ग्रान्ड फिनाले शुक्रबार राजधानीको वानेश्वरस्थित एभरेस्ट होटलमा सम्पन्न भएको हो ।
आयोजक एसवाई बजार नेपालका अनुसार करिब २ करोड रुपैयाँभन्दा बढी पुरस्कार राशि वितरण गरिएको यो कार्यक्रम नेपालकै सबैभन्दा ठूलो ब्रान्ड एम्बासडर हन्ट भएको दाबी गरिएको छ । कार्यक्रममा एसवाई बजार नेपालका निर्देशक विमलराज गोसाईले स्थापित सेलेब्रिटीभन्दा गाउँ–घरमा लुकेका प्रतिभालाई पहिचान गरी ब्रान्ड एम्बासडर बनाउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको बताए ।

प्रतियोगिता चरणबद्ध रूपमा सञ्चालन गरिएको थियो । पहिलो चरणमा डिजिटल अडिसनमार्फत उत्कृष्ट ५०० जना छनोट गरिएका थिए, जसलाई दुई हजार रुपैयाँबराबरको सपिङ भौचर प्रदान गरिएको थियो । दोस्रो चरणबाट उत्कृष्ट ५० जनालाई १० हजार रुपैयाँबराबरको भौचर दिइएको थियो । अन्तिम चरणमा २५ जना प्रतिस्पर्धी सहभागी भएका थिए ।
फाइनल नतिजाअनुसार फस्ट रनरअपमा सारा लामा र सेकेन्ड रनरअपमा अपि योञ्जन छनोट भएका छन् । टाइटल विजेता मलैसा आचार्यले ५ लाख नगद तथा १ करोड रुपैयाँबराबरको एकवर्षे कन्ट्र्याक्ट हात पारेकी छन् । फस्ट रनरअपलाई ४ लाख नगद र ५० लाखबराबरको कन्ट्र्याक्ट, सेकेन्ड रनरअपलाई ३ लाख नगद र ३० लाख रुपैयाँबराबरको कन्ट्र्याक्ट प्रदान गरिने आयोजकले जनाएका छन् ।



त्यसैगरी, बाँकी उत्कृष्ट सात जनाले ‘पपुल्यारिटी अवार्ड’अन्तर्गत प्रतिव्यक्ति १ लाख ५० हजार नगद पुरस्कार पाएका छन् । एसवाई ग्रुप अफ कम्पनी दक्षिण कोरियामा आधारित बहुराष्ट्रिय कम्पनी हो । यसअन्तर्गत नेपालमा एसवाई प्यानल, एसवाई बजार र एसवाई इन्टरप्राइजेजलगायतका कम्पनी सञ्चालनमा छन् ।

FACEBOOK COMMENTS