काठमाडौं । बेलायतका राजकुमार ह्यारी लन्डनको उच्च अदालतमा आफ्नो बयानको क्रममा भावुक भएका छन् ।
मिडिया रिपोर्टका अनुसार उनले बेलायती मिडियाले आफ्नी श्रीमती मेघन मार्कलको जीवनलाई नर्क बनाएको बताएका छन् । धेरै घण्टाको सुनुवाइपछि उनले आँशु झार्दै जवाफ दिएको मिडिया रिपोर्टमा उल्लेख छ ।
रिपोर्ट अनुसार, यो मुद्दा डेली मेल पत्रिकाको प्रकाशकविरुद्ध चलिरहेको मुद्दासँग सम्बन्धित छ । राजकुमार ह्यारीले उच्च अदालतमा मिडियाले निरन्तर उनको व्यक्तिगत जीवनमा घुसपैठ गरेको आरोप लगाए । उनले पत्रकारहरूले वैध स्रोतहरू भन्दा गैरकानूनी माध्यमबाट उनको बारेमा व्यक्तिगत जानकारी सङ्कलन गरेको बताएका छन् ।
ह्यारीले अदालतमा भने– ‘तिनीहरू अझै पनि मेरो पछि लागेका छन् । तिनीहरूले मेरी श्रीमतीको जीवनलाई पूर्ण नर्क बनाएका छन् ।’
राजकुमार ह्यारीसहित सात सेलिब्रेटीहरूले डेली मेलको प्रकाशक एसोसिएटेड न्यूजपेपर्स लिमिटेडलाई मुद्दा हालेका छन्, उनीहरुले विगत २० वर्षमा व्यक्तिगत जानकारी सङ्कलन गर्न अवैध तरिकाहरू प्रयोग गरिएको आरोप लगाएका छन् ।

प्रकाशकले सबै आरोपहरू अस्वीकार गरेका छन् र विवादास्पद समाचार वैध स्रोतहरूमा आधारित भएको बताएका छन् । मुद्दा लगभग नौ हप्तासम्म चल्ने अपेक्षा गरिएको छ ।

ह्यारीले निरन्तर मिडिया आक्रमण, उत्पीडन र जातिवादी लेखहरूका कारण, उनले र मेघनले २०२० मा शाही कर्तव्यहरू छोडेर अमेरिका सर्ने निर्णय गरेको पनि अदालतमा बताएका छन् ।

FACEBOOK COMMENTS