काठमाडौँ । देशभर आज ७३ औँ विश्व कुष्ठरोग दिवस मनाइँदै छ । ुकुष्ठरोगको छ ओखती, सामाजिक लान्छना र विभेद मुख्य चुनौतीु भन्ने नाराका साथ आज सो दिवस मनाउन लागिएको हो ।
कुष्ठरोग आँखाले देख्न नसकिने माइक्रोव्याक्टेरियम लेप्रे नामको सूक्ष्म कीटाणुबाट लाग्ने एक प्रकारको ज्यादै कम सर्ने रोग हो । यो रोगको उपचार नगरेको कुष्ठरोग बिरामीसँग लामो समयसम्म सम्पर्कमा आउने व्यक्तिलाई मुख्यतः श्वासप्रश्वासको मध्यमबाट सर्ने गर्दछ ।
रोग लागेको सुरुको अवस्थामा रोगको उपचार गरे अरूलाई नसर्नुका साथै पूर्णरुपमा निको हुन्छ । नेपालमा पछिल्लो समय वार्षिकरुपमा औसतमा २२ सय जनामा यो रोग फेला पर्छ ।
कुष्ठरोग मानव जातीमा हजारौँ वर्ष पहिलेदेखि देखापरेको संक्रमण हो । यो रोगको अङ्ग्रेजी नाम ल्याटिन शब्द ‘लेप्रो’ को विकसित रुप हो । त्यही भएर यसलाई ‘ल्याप्रोसी’ भनिन्छ । नर्वेका डाक्टर वैज्ञानिक गेरहार्ड हेनरीक अर्मर ह्यान्सनले सन् १८७३ मा कुष्ठरोगको किटाणु पत्ता लगाएका थिए । त्यहीकारण यो रोगलाई कतिपय मुलुकमा ‘ह्यान्सन्स् डिजिज’ पनि भनिन्छ ।
सामान्यतया कुष्ठरोग लागेको अवस्थामा शरीरमा नचिलाउने खालको सेतो फुस्रो दाग देखापर्ने, हात खुट्टामा छुँदा या चिमट्दा थाहा नहुने तथा शरीरमा कमजोरी महसूस हुँदै जानु कुष्ठरोगका प्रमुख लक्षण हुन् ।

FACEBOOK COMMENTS