काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज आइसीसी टी–२० विश्वकप अन्तर्गत दोस्रो वार्मअप खेल खेल्दैछ । यस खेलमा क्यानडाले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको छ ।
भारतको चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा हुने यस खेलमा नेपालको कप्तानी दिपेन्द्र सिंह ऐरीले गरिरहेका छन् । नियमित कप्तान रोहित पौडेल विश्वकप अघिको कप्तानहरुको बैठकका लागि गएकाले आजको खेलको कप्तानी दिपेन्द्रले गरेका हुन् ।
यस अघि नेपालले खेलेको वार्मअप खेलमा युएईलाई ७ विकेटले पराजित गरेको थियो । त्यस्तै क्यानडा भने इटालीसँग पराजित भएको थियो ।
आईसीसी विश्वकप आगामी फेब्रुअरी ७ देखि ८ मार्चसम्म भारत र श्रीलंकामा हुनेछ । नेपालको समूह स्कटल्याण्ड, इङल्यान्ड, इटाली र वेष्ट इण्डिज रहेका छन् । नेपालले पहिलो खेल आगामी फेब्रुअरी ८ मा इङल्यान्डसँग, फेब्रुअरी १२ मा इटाली, १५ मा वेष्ट इण्डिज र १७ मा स्कटल्याण्डसँग खेल्ने छ । नेपालले आफ्ना सबै खेल मुम्बईस्थित वाङखडे स्टेडियममा खेल्ने तालिका छ ।
FACEBOOK COMMENTS