काठमाडौं । जेन–जी अभियन्ता रक्षा बलमे विगतमा नेकपा एमालेले गरेकोजस्तो गल्ती अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गरिरहेको बताएकी छिन् ।
रौतहटमा रास्वपाका उम्मेदवारको गाडीले ठक्कर दिएर चार वर्षीया बालिकाको ज्यान गएको घटनाका सन्दर्भमा उनले यस्तो अभिव्यक्ति दिएकी हुन् ।
यस्तो छ, उनको भनाइ–
सबैभन्दा पहिले, कुनै पनि राजनीतिक दलमा आबद्ध हुनुहुने साथीहरूलाई यत्ति भन्न चाहन्छु कि आफ्नो नेताको बचाउमा आँखै चिम्लेर अनावश्यक डिफेन्ड गर्न बन्द गरौँ । सहीलाई सही र गलतलाई गलत भन्न सक्ने नैतिक साहस बिना राजनीति होइन, केवल अन्धभक्ति मात्रै बाँकी रहन्छ ।
रौतहटमा रास्वपाका उम्मेदवारको गाडीले किल्चिँदा चार वर्षीया बालिकाको ज्यान गएको छ । गाडीको अघिल्लो भागले ठक्कर दिएपछि ढलेकी बालिकालाई पछाडिको पांग्राले पनि किचेको हामी सामाजिक सञ्जालमा देख्न सक्छौँ । हिजो एमाले मन्त्रीको गाडीले मान्छे ठोक्दा र त्यसपछि नेतृत्वबाट आएको गैरजिम्मेवार, तल्लो स्तरको अभिव्यक्तिले हामीलाई आक्रोशित बनाएको थियो । आज ठीक त्यही गल्ती रास्वपाका समर्थकहरूले दोहोर्याइरहनु भएको छ ।

त्यो गाडीमा स्वयं उम्मेदवार हुनुहुन्थ्यो कि हुनुहुन्न थियो त्यो अनुसन्धानको पाटो होला । तर अहिले मुख्य कुरा जिम्मेवारी हो । जिम्मेवार अभिव्यक्ति दिनुहोस्, कानुनलाई सघाउने स्पष्ट प्रतिबद्धता जनाउनुहोस् ।

याद राख्नुहोस् साथीहरू, तपाईंको मनपर्ने पार्टी होस् वा मनपर्ने नेता, अपराध भनेको अपराध नै हो । कसुर अनुसार कारबाही हुन्छ, हुनै पर्छ । सरकारले यस विषयलाई गम्भीरतापूर्वक लिनुपर्छ । कुनै पनि राजनीतिक खोल ओढेर दोषीलाई उन्मुक्ति दिने काम नगरियोस् ।



FACEBOOK COMMENTS