काठमाडौं । विश्वव्यापी मोबिलिटी तथा अर्बन सेवा प्लेटफर्म इनड्राइभले नेपालमा आफ्ना ड्राइभर पार्टनर्सका लागि अत्यन्तै न्यून अर्थात् ०.०१% सेवा शुल्क लागू गर्ने घोषणा गरेको छ ।
फेब्रुअरी २०२६ देखि सुरु भएको यस पहलले ड्राइभरहरूलाई उनीहरूको आम्दानीको लगभग सम्पूर्ण हिस्सा आफैंसँग राख्न सहयोग पुरÞ्याउनेछ, जसबाट उनीहरूको आर्थिक सशक्तिकरण थप मजबुत हुने अपेक्षा गरिएको छ ।
इनड्राइभको विशिष्ट पियर–टु–पियर (ए२ए) मोडेलअनुसार यात्रु र चालकले आपसी सहमतिमा भाडा निर्धारण गर्ने व्यवस्था रहेकोमा यो नयाँ नीतिले सो प्रणालीलाई अझ पारदर्शी र चालक–मैत्री बनाउने कम्पनीले विश्वास लिएको छ ।
यस पहलको मुख्य उद्देश्य प्लेटफर्मको दिगो सञ्चालन सुनिश्चित गर्दै चालकहरूको वास्तविक आम्दानी बढाउनु र उनीहरूको निर्णय लिने स्वतन्त्रतालाई बलियो बनाउनु हो ।
कम्पनीका अनुसार यस्तो न्यून सेवा शुल्क संरचनाले इनड्राइभलाई निष्पक्ष मूल्य निर्धारण र “फेयर राइड्स” को अवधारणामा अग्रणी प्लेटफर्मका रूपमा स्थापित गर्न मद्दत पुग्नेछ ।
इनड्राइभ नेपालकी सिनियर ड्राइभर अपरेसन्स स्पेसलिस्ट सुश्री सुनिता जीमी राईका अनुसार यो अभियानले ड्राइभरहरूले बढी कमाउन सक्ने कुरा सुनिश्चित गर्दै यात्रुहरूलाई सुरक्षित र किफायती सवारीको अनुभव प्रदान गर्ने प्रतिबद्धतालाई पुन: पुष्टि गर्दछ ।
यो अभियान केवल तत्काल लाभका लागि मात्र नभई एक सिकाइ पहलको रूपमा पनि अघि बढाइनेछ, जसले लगभग शून्य सेवा शुल्कको प्रभावबारे अध्ययन गर्न कम्पनीलाई सहयोग गर्नेछ ।

इनड्राइभले नेपालको डिजिटल र गिग–अर्थतन्त्रमा सकारात्मक योगदान पुरÞ्याउँदै आगामी दिनहरूमा पनि ड्राइभर केन्द्रित पहलहरू, तालिम कार्यक्रम तथा कल्याणकारी गतिविधिहरू मार्फत आफ्ना पार्टनर्सलाई थप सहयोग गर्ने लक्ष्य राखेको छ ।

FACEBOOK COMMENTS