काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नंं ७ का नेकपा एमाले उम्मेदवार प्रकाश श्रेष्ठले आफ्नो जित सुनिश्चि भइसकेको दाबी गरेका छन् ।
शुक्रबार प्रेस चौतारी नेपाल उपत्यका प्रदेश कमिटीले आयोजना गरेको ‘उम्मेदवारसँग प्रेस चौतारी’ कार्यक्रममा सहभागि भएका उनले यसअघि आफू जनप्रतिनिधि रहँदा तथा प्रदेश सरकारमा मन्त्री हुँदा गरेको दर्जनौँ जनमुखी कामका कारण फागुन २१ को निर्वाचनमा प्रतिनिधिसभाका लागि निर्वाचित हुने दाबी गरेका हुन् ।
यसअघिको निर्वाचनमा उनी काठमाडौं निर्वाचन क्षेत्र नं. ७ (ख) बाट बागमती प्रदेश सभा सदस्य निर्वाचित भएका थिए । नेपाली कांग्रेसका बहादुरसिंह लामा मुख्यमन्त्री हुँदा कृषि तथा पशुपन्छी विकासमन्त्री बनेका उनले आफ्नो निर्वाचन क्षेत्रमा उल्लेख्य काम गरेको दाबी गर्दै त्यही कामले आफूलाई प्रतिनिधि सभाको यात्रा गराउने विश्वास व्यक्त गरेका छन् ।
बागमती प्रदेश सरकारमा मन्त्री बनेपछि गरेका विकास निर्माणका काम, आफ्नो अगुवाइमा बनाइएका कतिपय ऐन–कानुन र जनजीवनसँग प्रत्यक्ष जोडिएका योजनाहरू नै निर्वाचन जित्ने मुख्य आधार भएको उनको भनाइ छ । ‘मन्त्री हुनुअघि काठमाडौं–७ मा खानेपानीको चरम समस्या थियो, सडक स्तरीकरण गर्न सकिएको थिएन, सामुदायिक विद्यालयमा सुविधासम्पन्न भवन र गुणस्तरीय शिक्षाको अभाव थियो, स्वास्थ्य क्षेत्रमा राम्रा भवनहरू नभएको तथा कृषि व्यवसायमा बजेटको कमीजस्ता अनेक समस्या थिए,’ उम्मेदवार श्रेष्ठले भने, ‘दुई पटक मन्त्री हुँदा यीमध्ये धेरै समस्यामा ठोसरूपमा काम गरेर समाधान दिएको छु । बाँकी रहेका काम पनि प्रतिनिधिसभा सदस्यको आगामी कार्यकालमा पूरा गर्ने अठोट लिएको छु ।’
उनका अनुसार आफू मन्त्री हुँदा विद्यालय सुधार र शैक्षिक गुणस्तर सुधारका लागि महत्वपूर्ण कदम चालिएको छ भने पूर्वाधार, स्वास्थ्य र कृषि क्षेत्रमा आवश्यक बजेट विनियोजन र कार्यक्रम कार्यान्वयन गरिएको छ । ‘अझै केही काम बाँकी छन्, तर जनताको जीवनसँग जोडिएका धेरै आवश्यक काम सम्पन्न गरिसकेका छौँ,’ उनले भने । आगामी निर्वाचनबाट निर्वाचित भइसकेपछि पनि कानुन निर्माणका साथसाथै जनताले अपेक्षा गरे अनुसारको विकास निर्माणका कामलाई निरन्तरता दिने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।



जनतासँग जोडिएर काम गरेकै आधारमा आफूलाई पार्टीले उम्मेदवार बनाएको र जनताले पनि कामकै मूल्याङ्कन गरेर निर्वाचित गराउने विश्वास उनको छ । ‘प्रदेश सरकारमा रहँदा गरेको कामलाई हेरेर नै काठमाडौं–७ का मतदाताज्यूहरूले मलाई प्रतिनिधिसभामा देख्न चाहानुभएको छ,’ उनले दाबीका साथ भने । आफूले गरेको कामहरूबारे आफ्नो क्षेत्रका जनताहरू जानकार रहेको चर्चा गर्दै उनले अगाडि भने, ‘अहिलेका मतदाता सचेत छन् । हामीले गरेको कामहरूबारे धेरै प्रचार गर्नुपर्दैन, उहाँहरू (मतदाता) आफैंले मूल्याङ्कन गरिरहनुभएको छ ।’

यस्तै, उनले वर्तमान राजनीतिक परिस्थितिमाथि टिप्पणी गर्दै फागुन २१ को निर्वाचन नियमित नभइ विशेष परिस्थितिको उपज भएको बताए । पछिल्लो परिस्थिति कसले सृजना गर्यो भन्ने विषयमा नेपाली जनता भलीभाँती जानकार रहेको चर्चा गर्दै उनले एमालेमाथि बढी नै आक्रमण भइरहेको बताए । नेकपा एमाले आर्थिक समृद्धि र विकासको मार्गमा अघि बढिरहेको बेलामा राजनीतिक अस्थिरताको अवस्था सृजना गरिएको उनको भनाइ छ । पछिल्लो समय देशमा बढिरहेको बाह्य हस्तक्षेपप्रति चिन्ता व्यक्त गर्दै उनले भने, ‘साम्राज्यवादी र विस्तारवादी शक्तिहरूको हस्तक्षेपबाट मुलुकलाई अस्थिरतातर्फ धकेल्ने प्रयास भइरहेको छ, मुलुकको सार्वभौमसत्ता खतरामा छ । देशलाई जिताउने कि हराउने जिम्मा अब नेपाली जनताको हातमा छ ।’

यस्तै, अहिले एमालेमाथि जतिसुकै आरोप लगाएर आलोचना भइरहेको भए पनि जनताको विश्वास नघटेको उम्मेदवार श्रेष्ठको दाबी थियो । ‘देशका लागि एमालेले खेलेको भूमिका अरू दलको तुलनामा अब्बल छ, त्यसैले हाम्रो नीति र विचारप्रति जनताको विश्वास कायम छ,’ उनले भने ।
FACEBOOK COMMENTS