काठमाडौँ । काठमाडौँ क्षेत्र नं. ८ का उम्मेदवार राजेश शाक्यले यट्खा बहाल क्षेत्रमा स्थानीयबासीसँग भेटघाट गर्दै गुनासा तथा सुझाव संकलन गरेका छन्।
उक्त कार्यक्रममा शाक्यले स्थानीयले उठाएका पूर्वाधार विकास, सम्पदा संरक्षण तथा वातावरणीय व्यवस्थापनसम्बन्धी विषयहरू ध्यानपूर्वक सुन्दै आगामी दिनमा समाधानमुखी पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।
शाक्य २०७४/७८ मा बागमती प्रदेशका माननीय सभासद रहँदा यट्खा बहालमा ‘तेलिया इट्टा’ छाप्ने कार्य सम्पन्नको उद्घाटन गरेका थिए। त्यस क्रममा बहाल क्षेत्रमा प्रयोग गरिएको परम्परागत ‘तेलिया इट्टा’ जस्ता प्राकृतिक सामग्रीले स्थानको मौलिकता जोगाउन तथा वातावरणीय सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै उनले यस्ता प्रकृतिसँग जोडिएका दिगो विकासका कार्यलाई भविष्यमा पनि निरन्तरता दिने बताए।
कार्यक्रममा काठमाडौँका पूर्वमेयर एवं निर्वाचन परिचालन संयोजन समितिका संयोजक विद्या सुन्दर शाक्य को पनि उपस्थिति रहेको थियो। उनले विकासप्रेमी नेताका रूपमा राजेश शाक्यले क्षेत्र नं. ८ मा उल्लेखनीय काम गरेको दाबी गर्दै प्रत्यक्ष र समानुपातिक दुवैमा एमालेलाई मत दिई विजयी गराउन स्थानीयसँग आग्रह गरे।
विद्या सुन्दर शाक्यले भने, “अहिलेसम्म भएका विकास कार्यहरूको उचित मूल्याङ्कन गर्दै निरन्तरता दिन सक्ने नेतृत्वलाई साथ दिनु आवश्यक छ।” उनले विगतमा सम्पन्न सम्पदा संरक्षण, सडक सुधार तथा सार्वजनिक स्थल व्यवस्थापनका कामहरू स्मरण गर्दै आगामी दिनमा अझ व्यापक र योजनाबद्ध विकासका लागि राजेश शाक्य सक्षम उम्मेदवार रहेको धारणा व्यक्त गरे।

यसैबीच, यट्खा बहाल संरक्षण समितिका अध्यक्ष तेज रत्न ताम्राकारले बहाल क्षेत्रमा तेलिया इट्टा छापेर सम्पन्न गरिएको कार्यप्रति कृतज्ञता व्यक्त गर्दै अब त्यसको “गुन तिर्ने बेला आएको” बताए। उनले सम्पूर्ण बहालबासीलाई विकासलाई निरन्तरता दिन राजेश शाक्यलाई साथ दिन आग्रह गरेका छन्।

उम्मेदवार राजेश शाक्यले स्थानीयको विश्वासलाई मुख्य आधार मानेर पारदर्शी, दिगो तथा जनअपेक्षाअनुसारको विकासलाई प्राथमिकता दिने प्रतिबद्धता दोहोर्याएका छन्।

FACEBOOK COMMENTS