काठमाडौँ । शेख हसिना नेतृत्वको सरकार पतनपछि गठन भएको मोहम्मद युनुस नेतृत्वको अन्तरिम सरकारका मन्त्रीहरूको सम्पत्तिमा उल्लेखनीय वृद्धि भएको सार्वजनिक विवरणले देखाएको छ ।
सरकार प्रमुख मोहम्मद युनुसको सम्पत्ति एक वर्षको अवधिमा करिब ११ प्रतिशतले बढेको देखिएको छ । अघिल्लो वर्षको तुलनामा उनको सम्पत्तिमा झण्डै ११ प्रतिशतले बढेको रिपोर्टमा उल्लेख छ ।
अन्तरिम सरकारका शीर्ष चार मन्त्रीमध्ये सबैभन्दा बढी सम्पत्ति वृद्धि युनुसकै भएको बताइएको छ । युनुस नेतृत्वको २१ सदस्यीय मन्त्रिपरिषद्मध्ये १८ मन्त्रीहरूको सम्पत्ति बढेको तथ्य सार्वजनिक भएको छ ।
यसैबीच, नयाँ प्रधानमन्त्री रहमानले अन्तरिम सरकारका मन्त्रीहरूको सम्पत्तिमा भएको वृद्धिबारे छानबिन गर्न समिति गठन गर्ने तयारी गरेको रिपोर्टमा दाबी गरिएको छ ।
नोबेल पुरस्कार विजेता युनुस बंगलादेशमा माइक्रो–फाइनान्स क्षेत्रका अगुवा मानिन्छन् । शेख हसिना सरकारको कार्यकालमा उनीविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दर्ता भएको थियो । तर आफ्नै नेतृत्वमा सरकार गठन भएपछि ती मुद्दा फिर्ता लिइएको बताइएको छ ।
उता, तारिक रहमानको विजयपछि युनुस सरकारमा आईटी मन्त्री रहेका फैज अहमद तैयब नेदरल्यान्ड्स फर्किएका छन् । उनको कार्यकालमा सूचना प्रविधि क्षेत्रमा विदेशी कम्पनीहरूको पक्षमा केही निर्णय गरिएको भन्दै आलोचना भएको थियो । उच्च क्षमताका उपकरण खरिदका लागि केही कम्पनीलाई अनावश्यक रूपमा टेन्डर दिएको आरोप समेत उनीमाथि लागेको छ ।

युनुस सरकारकी वातावरण मन्त्री सैयदा रिजवाना अनुसार फैज आफ्नो परिवारसहित नेदरल्यान्ड्समै बसोबास गर्दै आएका थिए र अन्तरिम सरकारमा सहभागी हुन बंगलादेश फर्किएका थिए ।

FACEBOOK COMMENTS