काठमाडौं । सर्लाही सदरमुकाम मलंगवामा बेवारिसे अवस्थामा फेला परेको पेस्तोल चलाउँदा एक बालक घाइते भएका छन् । बिहीबार दिउँसो गोली लागेर मलंगवा नगरपालिका–४ बस्ने १५ वर्षीय आकाश राम घाइते भएका हुन् ।
सर्लाही प्रहरीका अनुसार, मलंगवा–४ स्थित ‘ढाका बोर्डर’ क्षेत्रमा निर्माणाधीन हनुमान मन्दिरभित्र कुनामा रातो कपडाले बेरिएको अवस्थामा पेस्तोल फेला परेको थियो । उक्त पेस्तोल नक्कली ठानी चलाउने क्रममा पड्किँदा आकाशको दाहिने हातको पञ्जामा गोली लागेको प्रहरीको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सरोज राईका अनुसार, घाइते बालकको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ । उनको अवस्था खतरामुक्त रहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
FACEBOOK COMMENTS