काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले रौतहटको गौर नगरपालिका–६ सपगडामा भएको पछिल्लो घटनाप्रति चिन्ता व्यक्त गरेका छन् ।
सहसंयोजक नेपालले आइतबार एक सन्देश जारी गर्दै हिन्दू र मुस्लिम दुवै समुदायबीच उत्पन्न विवाद अन्त्य गर्नका लागि संयमता अपनाउन दुवै समुदायलाई आग्रह गरेका हुन् ।
धार्मिक सहिष्णुतालाई आत्मसात् गर्दै एकअर्काको धर्म, संस्कृति एवं चाडपर्वको सम्मान गरेर सदियौँदेखि मिलेर बसेका दुवै समुदायबीच सहयोग र सहकार्यसहित मिलेरै जानुपर्नेमा जोड दिँदै साम्प्रदायिक हिंसा कुनै पनि हालतमा स्वीकार्य नहुने बताए ।
हिन्दू वा मुस्लिम दुवै एकअर्काका परिपूरक रहेको उल्लेख गर्दै उनले स्थानीय जनताको सुरक्षा व्यवस्थासहित जीवन रक्षाका लागि सरकारसँग माग गरे ।
गृहजिल्ला रौतहटबाट लामो समयदेखि सङ्घीय संसद्मा प्रतिनिधित्व गर्दै आउनुभएका नेकपाका सहसंयोजक समेत रहेका पूर्वप्रधानमन्त्री नेपालले अहिले देखिएको समस्याको समाधान आपसी संवादबाट मात्रै सम्भव हुने पक्षलाई दृष्टिगत गरी संयमता अपनाउन दुवै समुदायसँग अपिल गरे ।
तीन दिनअघि गौरमा दुई समुदायबीच सामान्य भनाभनबाट सुरु भएको विवाद बढ्दै जाँदा साम्प्रदायिक दंगामा परिणत भएपछि स्थिति नियन्त्रणमा लिन निषेधाज्ञा जारी गरिएको छ ।

FACEBOOK COMMENTS