काठमाडौं । राष्ट्रिय महिला फुटबल टिमकी कप्तान सावित्रा भण्डारी ’साम्बा’ ले आफ्नो उपचारका लागि आम जनताको सहयोग मागेकी छन् ।
सावित्राले आफ्नो इन्जुरीको उपचार गर्न सामाजिक सञ्जालमार्फत जानकारी दिँदै शल्यक्रियाका लागि सहयोगको अपिल गरेकी हुन् ।
उनले भनेकी छन् ’पछिल्लोपटक एन्फा नेतृत्वको पहलमा मेरो उपचारमा पूर्ण व्यवस्थापन र सहयोग थियो, जसका कारण म समयमा मैदानमा फर्कन सकें । तर यसपटक एन्फा नेतृत्वबाट वाचा गरिएको सहयोग पनि प्राप्त भएन । चोट लागेको तीन हप्तापछि क्लबले शल्यक्रिया मिति तोकेको भए पनि एन्फाबाट प्रक्रिया अघि बढेन ।’
सावित्राले अगाडी भनेकी छन्– ’अघिल्लो साता एन्फा अध्यक्ष आफैंले मेरो उपचारमा एन्फाबाट प्रशासनिक सहयोग गर्न नसकिने जानकारी दिनुभयो । वहाँले नगद ५ लाखसम्म सहयोग गर्ने र अन्य प्रक्रिया आफैं गर्न भन्नुभयो । एक त मैले यसअघि चालेको प्रक्रिया रोकियो, अर्कोतर्फ मैले झन्डै २ महिनापछि मात्र शल्यक्रिया मितिको लागि फेरी प्रयास गर्नुपर्ने भएको छ ।
यसबीचमा क्लबले मलाई न्युजिल्यान्डकै स्थानीय अस्पतालमा उपचार गर्न तयार रहेको बताइरहेको छ । तर मेरो चोट गम्भीर रहेको र पछिल्लो पटक कतारको अस्पेटारमा गरिएको उपचार उच्च स्तरको रहेकाले मैले पुन: सोहि अस्पतालमा उपचार गराउने इच्छा राखेको हुँ । क्लबले विमाबाट प्राप्त रकम मेरो लागि निकासा गरिदिने भएको छ । तर उक्त रकम मेरो शल्यक्रिया र ७–८ महिना रिह्याबका लागि अपुग हुने भएकाले आम समर्थकमाझ सहयोग माग्न आइपुगेको छु । यसका लागि कुल ८० हजार अमेरिकी डलर खर्च हुने प्रारम्भिक आँकलन रहेको छ ।’

सावित्राले उनको चोट गम्भीर रहेको र पछिल्लो पटक कतारको अस्पेटारमा गरिएको उपचार उच्च स्तरको रहेकाले उनी त्यही अस्पतालमा पुन: उपचार गराउन चाहेको बताएकी छन् ।

सावित्राले आफ्नो करियरको चुनौतीपूर्ण समयमा पनि साहसका साथ कठिनाइहरूको सामना गर्दै आएको उल्लेख गर्दै, यसपटक पुन: माथि उठ्न आम जनताको सहयोगको आवश्यकता रहेको बताइन् । उनले भनेकी छन्– ’म आफ्नो देशको लागि सधैं शतप्रतिशत दिने प्रयास गर्दै आएको छु । इजरायल होस् या फ्रान्स, मैले नेपालकै नाम राखेको महसुस गरेको छु । आज मैले आफ्नो व्यक्तिगत आम्दानी प्रयोग गरेर उपचार गर्नुपर्ने अवस्था आएको छ, त्यसैले सहयोगको अपिल गर्दैछु ।’

सावित्राको यो अपिलले खेल प्रेमी र आम नागरिकलाई उनको उपचारमा हातेमालो गर्न उत्प्रेरित गर्ने अपेक्षा गरिएको छ । उनले यो चोटले आफुलाई शारीरिक र मानसिक रुपमा थकाएको तर नहारेको बताएकी छन् ।

FACEBOOK COMMENTS