काठमाडौं, भदौ ५ – कालीमाटी, बल्खु, कुलेश्वरसहितका तरकारी तथा फलफूलको होलसेल बजार राती १२ बजेदेखि बिहान ९ बजेसम्म मात्रै खुल्ने भएको छ । निषेधाज्ञाको पहिलो दिन बिहीबार ती बजार राती १२ बजेदेखि बिहान ७ बजसम्म मात्रै सञ्चालनमा आएको थियो । किसानले बजारसम्म ल्याएको तरकारी निषेधाज्ञाकै कारण बिक्न छाडेपछि बजार खुल्ने समयअवधि बढाउन व्यवसायीले जिल्ला प्रशासन कार्यालयमा आग्रह गरेका थिए ।
सुरुमा प्रमुख जिल्ला अधिकारीले तरकारी, माछा मासु, फलफूल, दूग्ध डेरी र खाद्यन्न पसल दिनभरी सञ्चालन गर्न दिने बताएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास संस्थाका अध्यक्ष गीता आचार्यले बताए ।
तर चार बजे आएको कोभिड परिक्षण नतिजा पछि कालीमाटी लगायतको क्षेत्रमा संक्रमीत थपिएको भन्दै दिनभरी बजार खुलाउन नसकिने जानकारी प्रहरीबाट प्राप्त भएको उनले सुनाए ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति र स्थानीय जनप्रतिनिधसिंगको समन्वयमा बजार बिहान ९ बजेसम्म सञ्चालन हुन दिने सहमति भएको कालीमाटी प्रहरी बृतका प्रमुख डिएसपी रुगमबहादुर कुवँरले जानकारी दिए ।
तरकारी आयातमा निषेधाज्ञा प्रभाव
तरकारीको ठूलो खपत हुने काठमाडौं उपत्याकामा निषेधाज्ञा सुरु भएपछि कालीमाटी तरकारी बजारमा तरकारी लगायतको वस्तु आयातमा ह्रास आएको छ । दैनिक ६ लाख किलो हाराहारी तरकारी भित्रिने बजारमा बिहीबार एक लाख ४० हजार किलो मात्रै तरकारी भित्रिएको बजार विकास समितिमा सूचना अधिकारी विनय श्रेष्ठले जानकारी दिए ।
बुधबार बजारमा ५ लाख १६ हजार किलो तरकारी भित्रिएको थियो । बुधबार ५४ हजार किलो फलफूल भित्रिएको बजारमा बिहीबार ११ हजार किलो मात्रै फलफूल भित्रिएको छ । यस्तै बजारमा आज माछा नभित्रिएको बजार विकास समितिले जनाएको छ ।
बजार खुल्ने अनिश्चिततता र निषेधाज्ञाको डरले छिमेकी जिल्लाबाट तरकारी भित्रिन कम भएको बजार विकास समितिले जनाएको छ ।
FACEBOOK COMMENTS