काठमाडौँ । बीबीसीले युट्युब च्यानलबाट सम्प्रेषण गरेको डकुमेन्ट्रीका विषयमा प्रेस काउन्सिल नेपालले ध्यानाकर्षण भएको जनाएको छ ।
शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै काउन्सिलले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्मुखमा गत भदौमा भएको जेनजी आन्दोलनका विषयमा बीबीसीले युट्युब च्यानलबाट सम्प्रेषण गरेको डकुमेन्ट्रीलाई लिएर ध्यानाकर्षण भएको जनाएको हो ।
प्रेस काउन्सिल नेपालका सूचना अधिकारी रामशरण बोहराद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तमा भनिएको छ,’जेनजी पुस्ताले गरेको आन्दोलनका क्रममा भएका घटनाहरुका बारेमा छानबिन गरी दोषीमाथि कारबाही गर्न बनेको अधिकार सम्पन्न उच्चस्तरीय आयोगले अनुसन्धान गरिरहेको र सोको प्रतिवेदन आइनसकेको अवस्थामा निर्वाचन मितिको सम्मुखमा निर्वाचनलाई प्रभावपार्ने किसिमबाट विदेशी सञ्चार माध्यमबाट डकुमेन्ट्रीको नाममा यस्ता सामग्री सम्प्रेषण हुनु संवेदनशील विषय हो ।’
बीबीसी विदेशी मुलुकबाट सञ्चालित भएको भन्दै उक्त सञ्चार माध्यम र त्यसअन्तर्गतको सामाजिक सञ्जालबाट सम्प्रेषित सामग्रीको नियमन गर्ने विषयमा काउन्सिलको स्पष्ट क्षेत्राधिकार नहुँदा कुटनीतिक समन्वयमार्फत प्रक्रिया अगाडि बढाउन नेपाल सरकार र निर्वाचन आयोगलाई अनुरोध गरी पत्राचार गर्ने काउन्सिलको बैठकले निर्णय गरेको छ ।
पत्रकार आचारसंहिता, २०७३ को दफा ११ को अधिनमा रही बनेको ’पत्रकार आचारसंहिता उजुरी र कारबाही सम्बन्धी कार्यविधि, २०७५ को दफा ५(ठ) मा ’विदेशबाट सञ्चालित अनलाइन वा अन्य माध्यमविरुद्ध उजुरी परी कारबाही चलेको अवस्थामा नेपाली नागरिक भएको भए त्यहाँस्थित नेपाली दूतावास र विदेशी नागरिक भइसकेको भए कुटनीतिक माध्यमबाट समन्वय गर्नुपर्दछ’ भन्ने व्यवस्था रहेको छ भने निर्वाचन आचारसंहिता, २०८२ को दफा २५ मा ’सञ्चार प्रतिष्ठान, सम्वद्ध कर्मचारी तथा पत्रकारले पालना गर्नुपर्ने आचरण’ तोकिएको काउन्सिलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।



FACEBOOK COMMENTS