काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूको विशेष पर्व फागुपूर्णिमाले समाजमा आपसी सद्भाव कायम राख्न थप प्रेरणा मिलोस् भन्ने कामना गरेका छन् ।
होली पर्वको सुखद अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिका लागि मङ्गलमय शुभकामना व्यक्त गरेका हुन् ।
राष्ट्रपति पौडेलले भनेका छन्– ’होली पर्वले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवम् कुरीतिलाई निर्मूल गर्दै मौलिक संस्कृतिको संरक्षण र संवद्र्धन गर्न तथा समाजमा आपसी सद्भाव कायम राख्न थप प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु।’
असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको, दूराचारमाथि सदाचारको र अधर्ममाथि धर्मको विजय भएको खुसियालीमा मनाइने होली पर्वमा वैरभाव परित्याग गरी प्रेमभाव र आत्मीयताका साथ आफन्तजन एवम् साथीसङ्गीहरूसँग एकापसमा अबिर तथा रङ्ग दलेर सद्भाव प्रकट गर्ने तथा रमाइलो गर्ने परम्परा रहेको राष्ट्रपति पौडेलको भनाइ छ।
राष्ट्रपति पौडेलले होलीमा खेलिने विविध रङ्गहरू जस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिक रुपमा विविधतापूर्ण रहेको र त्यही विविधताबीचको एकता नै हामी नेपालीको पहिचान र सुन्दरता भएको पनि उल्लेख गरेका छन्।

FACEBOOK COMMENTS