काठमाडौँ । पश्चिम एसियामा बढ्दो तनावका बीच रुसले ईरानलाई गोप्य जानकारी उपलब्ध गराइरहेको आशंका व्यक्त गरिएको छ । मिडिया रिपोर्टका अनुसार पश्चिम एसियामा रहेका अमेरिकी युद्धपोत र सैनिक विमानको स्थानसम्बन्धी विवरणसमेत रहेको उल्लेख गरिएको बताइएको छ ।
उक्त विवरण तीन जना अधिकारीलाई उद्धृत गर्दै सार्वजनिक गरिएको हो । उनीहरू यस गोप्य सूचनासँग सम्बन्धित रहेको जनाइएको छ । तर रुसले ईरानलाई कति स्तरको सहयोग गरिरहेको छ भन्ने कुरा स्पष्ट नभएको बताइएको छ ।
गत साता अमेरिका र इजरायलले तेहरानमा आक्रमण गरेपछि इरानको सैनिक क्षमता कमजोर भएको र अमेरिकी सैनिक अड्डाहरूको स्थान पत्ता लगाउन उसलाई झन कठिन भइरहेको उल्लेख गरिएको छ । त्यसपछि संघर्ष झन् तीव्र बनेको छ । ईरानले पनि प्रत्याक्रमण सुरु गरेको छ र यस टकरावका कारण आसपासका धेरै देश प्रभावित हुन थालेका छन् । इरानले अमेरिका, इस्राइल र उनीहरूका सहयोगीलाई ठूलो मूल्य चुकाउन बाध्य पार्ने प्रयास गरिरहेको बताइएको छ ।
यता अमेरिकी राष्ट्रपतिको कार्यालयले रुसले ईरानलाई सहयोग गरेको आरोपबारे प्रत्यक्ष टिप्पणी गरेको छैन । राष्ट्रपतिको कार्यालयकी प्रवक्ता अन्ना केलीले ईरानको अवस्था क्रमशः कमजोर बन्दै गएको बताएकी छन् । उनका अनुसार ईरानबाट गरिएका क्षेप्यास्त्र आक्रमण दिनप्रतिदिन घट्दै गएका छन्, नौसैनिक शक्ति ठूलो क्षतिमा परेको छ र हतियार उत्पादन गर्ने क्षमता पनि तीव्र रूपमा घटाइँदै गएको छ ।
उता रुसको राष्ट्रपति कार्यालयले भने ईरानी नेतृत्वसँग निरन्तर संवाद भइरहेको जनाएको छ। तर तेहरानलाई सैनिक सहयोग दिइरहेको छ कि छैन भन्ने विषयमा उसले स्पष्ट जानकारी दिएको छैन ।

यस संघर्षका कारण रुसलाई आर्थिक लाभसमेत हुन थालेको उल्लेख गरिएको छ । पश्चिम एसियामा तनाव बढेपछि रुसी तेल र ग्यासको माग बढेको र त्यसले निर्यातमा वृद्धि भएको बताइएको छ। रुस पहिले नै युक्रेनसँगको युद्धका कारण लगाइएका प्रतिबन्धको दबाब झेलिरहेको छ ।


FACEBOOK COMMENTS