काठमाडौँ । पुष्पकमल दाहाल प्रचण्डले नेकपा माओवादी केन्द्रको नाम समेत बदल्दै एकीकृत समाजवादीका नेता माधव कुमार नेपाललाई समेत साथमा लिएर बनाएको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को प्रयोग असफल भएको छ ।
प्रचण्डले नेपालका कम्युनिष्टहरुलाई एक ठाउमा ल्याउने भन्दै २२ भन्दा बढी दल र समूह मिलाएर नेकपा बनाएपनि यसको हैसियत यसअघिको माओवादी केन्द्र भन्दा धेरै सानो भएको छ ।
चुनावमा रास्वपाको सुनामीको असर भोगेका ठुला दलहरु मध्ये नेकपा अब आफ्नो आस्तित्वको लडाई लड्ने अवस्थामा पुगेको देखिन्छ । प्रत्यक्षतर्फ नेकपाले जम्मा ७ सिट मात्र जित्न सकेको छ, जसले पार्टीको राजनीतिक भविष्यबारे गम्भीर प्रश्न उठाएको छ ।
निर्वाचन परिणामअनुसार लुम्बिनी प्रदेशको रुकुमपूर्वबाट पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्ड विजयी भएका छन् भने रोल्पाबाट वर्षमान पुन निर्वाचित भएका छन्। कर्णाली प्रदेशमा रुकुम पश्चिमबाट गोपाल शर्मा, सल्यानबाट रमेश मल्ल, डोल्पाबाट धनबहादुर बुढा र कालीकोटबाट महेन्द्रबहादुर शाही विजयी भएका छन्। यस्तै बागमती प्रदेशअन्तर्गत सिन्धुपाल्चोक–२ बाट युवराज दुलाल निर्वाचित भएका छन्।
त्यस्तै नेकपा चार प्रदेशमा भने पूर्ण रूपमा शून्य बनेको छ। कोशी, मधेश, सुदूरपश्चिम र गण्डकी प्रदेशमा नेकपाले एक सिट पनि जित्न सकेन। यसले पार्टीको प्रभाव सीमित भौगोलिक क्षेत्रमा मात्र केन्द्रित भएको देखाएको छ। समानुपातिकतर्फ पनि नेकपाले उल्लेखनीय मत पाउन सकेको छैन।

हालसम्मको मतगणनाअनुसार पार्टीले ७ लाख मत पार गरेको छ, जसका आधारमा ७ प्रतिशत मत प्राप्त गर्ने अनुमान गरिएको छ । यो परिणाम अघिल्लो निर्वाचनको तुलनामा निकै कम हो। गत निर्वाचनमा तत्कालीन माओवादी केन्द्रले मात्र समानुपातिकतर्फ ११ लाख ७५ हजारभन्दा बढी मत प्राप्त गरेको थियो ।

राजनीतिक विश्लेषकहरूका अनुसार नेकपाको कमजोर प्रदर्शनको मुख्य कारण नेतृत्वको सत्ता केन्द्रित राजनीति रहेको छ । विशेषगरी प्रचण्ड र माधवकुमार नेपालको राजनीतिक शैलीले पार्टीलाई दीर्घकालीन संगठन निर्माणभन्दा पनि तत्कालीन सत्ता समीकरणतर्फ केन्द्रित बनाएको आरोप लाग्दै आएको छ ।

पार्टी गठन गर्दा धेरै दल र समूहलाई एकत्रित गरिएको भए पनि साझा राजनीतिक दृष्टि र स्पष्ट कार्यक्रम निर्माण गर्न नसक्दा संगठन बलियो बन्न सकेन। नेतृत्वबीचको शक्ति सन्तुलन, पद बाँडफाँट र सत्ता समीकरणमै बढी ध्यान केन्द्रित हुँदा जनतामाझ विश्वास घटेको विश्लेषण गरिएको छ ।

प्रचण्ड र माधव नेपालको व्यक्तिगत प्रभावमा आधारित राजनीतिक निर्णयले पार्टीको भविष्य सुरु नहुँदै चुनौतीपूर्ण बनेको टिप्पणी पनि भइरहेको छ । सत्ता प्राप्तिलाई प्राथमिकता दिने रणनीतिले दीर्घकालीन वैचारिक आधार कमजोर बनाएको भन्दै कार्यकर्ता तहमै असन्तुष्टि देखिएको छ ।

त्यस्तै प्रचण्डले नेकपा बनाएको कुरालाई आम मतदाताले नै अस्वीकार गरिदिएकै रुपमा बुझ्न सकिन्छ । अब यदि नेतृत्वले आत्मसमीक्षा गरेर संगठन विस्तार, स्पष्ट नीति र जनमुखी कार्यक्रम ल्याउन सकेन भने नेकपाको राजनीतिक भविष्य अझै कठिन हुन सक्ने देखिएको छ । अहिलेको निर्वाचन परिणामले दलको सदस्यता लिएर गर्ने परम्परागत राजनीतिको जग भत्काएको अवस्थामा प्रचण्डले नेकपालाई कसरी अगाडी बढाउछन् त्यो भने हेर्न बाँकी छ ।
FACEBOOK COMMENTS