काठमाडौँ । एशियन कपबाट बाहिरिएको इरानकी महिला फुटबल टोलीकी पाँच खेलाडीलाई अष्ट्रेलियाले मानवीय भिसा दिएर आफ्नो देशमा बस्ने अनुमति दिएको छ । अष्ट्रेलियाका आप्रवासन मन्त्री टोनी बर्कका अनुसार यी खेलाडीहरूलाई प्रहरीले सुरक्षित स्थानमा पुर्याइसकेको छ ।
मानवीय भिसा पाउने खेलाडीहरू फतेमेह पसंदिदेह, जहरा घनबारी, जहरा सरबली, अतेफे रमजानजादेह र मोना हमौदी रहेका छन् । अस्ट्रेलिया सरकारले बाँकी खेलाडीहरूले चाहेमा उनीहरूलाई पनि अष्ट्रेलियामा बस्न अनुमति दिने बताएको छ ।
गत हप्ता दक्षिण कोरियासँगको खेल अघि ईरानकी टोलीले राष्ट्रिय गान गाएनन् । यसपछि ईरानमा केही व्यक्तिहरूले टोलीको आलोचना गरे र उनीहरूलाई कडा सजाय दिनुपर्ने माग राखेका थिए । यसका कारण खेलाडीहरूको सुरक्षा सम्बन्धी चिन्ता बढेको थियो ।
गोल्ड कोस्ट स्टेडियम बाहिर आइतबार सयौं मानिसहरूले ’सेव आवर गल्र्स’ भन्दै नारा लगाएका थिए र खेलाडीहरूलाई सुरक्षित राख्न माग गरेका थिए ।
अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बनीजले पनि यी पाँच खेलाडीलाई मानवीय भिसा दिइएको बताएका छन् । यस भिसामा उनीहरू अष्ट्रेलियामा बस्न, काम गर्न र अध्ययन गर्न सक्ने बताइएको छ ।

यस घटनामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि आवश्यक परेमा अमेरिका पनि यी खेलाडीलाई शरण दिन तयार रहेको बताएका थिए ।

FACEBOOK COMMENTS