काठमाडौँ । कम्बोडियामा अलपत्र परेका २१ जना नेपाली नागरिकलाई उद्धार गरी नेपाल फर्काइएको छ ।
नेपाली राजदूतावास बैंककको पहल र कम्बोडिया सरकारको सहयोगमा गैरआवासीय नेपाली संघ कम्बोडियाको सहजीकरणमा उनीहरूलाई शुक्रबार नेपाल ल्याइएको हो ।
राजदूतावासका अनुसार विभिन्न व्यक्तिको प्रलोभनमा परी कम्बोडिया पुगेका ती नेपालीलाई अवैध रूपमा सञ्चालन गरिएका अनलाइन ठगी केन्द्र, क्यासिनो तथा अन्य गैरकानुनी काममा लगाइएको थियो । केही नेपाली बिना भिसा वा भिसाको अवधि सकिएपछि पनि कम्बोडियामा बसिरहेका थिए ।
राजदूतावासले त्यस्तो अवस्थामा रहेका नेपालीलाई नेपाल फर्कन सहजीकरणका लागि आफूहरूसँग वा गैरआवासीय नेपाली संघ कम्बोडियाका प्रतिनिधिसँग सम्पर्क गर्न आग्रह गरेको छ । अनलाइन ठगी केन्द्रमा काम गराइएकाहरूको राहदानी कम्पनीले जफत गर्ने वा स्थानान्तरणका क्रममा हराउने घटना पनि देखिएको गुनासो आएको जनाइएको छ। यस्तो अवस्थामा नेपाल फर्किन राजदूतावासले नि:शुल्क एकतर्फी यात्रा अनुमति पत्र उपलब्ध गराउने व्यवस्था गरेको जनाएको छ ।
उपलब्ध तथ्यांकअनुसार पछिल्ला वर्षहरूमा कम्बोडिया जाने नेपालीको संख्या तीव्र रूपमा बढेको छ । सन् २०२१ मा १०१ जना नेपाली भ्रमण भिसामा कम्बोडिया पुगेका थिए भने सन् २०२२ मा १ हजार ९७७, सन् २०२३ मा २ हजार ९४०, सन् २०२४ मा ६ हजार ४०४ र सन् २०२५ मा ९ हजार ६७६ जना पुगेको तथ्यांक छ ।

राजदूतावासले वैदेशिक रोजगारीका लागि नेपाल सरकारले तोकेको मापदण्डअनुसार श्रम स्वीकृति लिएर मात्र विदेश जान र छिटो धेरै पैसा कमाउने प्रलोभनमा परी कम्बोडिया, लाओस, म्यानमार तथा थाइल्याण्डजस्ता देशमा भ्रमणको बहानामा काम गर्न नजान सबैलाई आग्रह गरेको छ ।

FACEBOOK COMMENTS