काठमाडौँ । इरानमाथि भएका आक्रमणपछि देशभित्र ठूलो संख्यामा नागरिक घर छाडेर सुरक्षित स्थानतर्फ सर्न थालेका छन् ।
संयुक्त राष्ट्रसंघको शरणार्थीसम्बन्धी निकायका अनुसार हालसम्म इरानमा करिब ३२ लाख मानिस अस्थायी रूपमा विस्थापित भएका छन् ।
जानकारी अनुसार धेरैजसो मानिस राजधानी तेहरान र अन्य ठूला सहरबाट देशको उत्तरी क्षेत्रतर्फ सरेका छन् । द्वन्द्वको असर छिमेकी देशहरूमा पनि देखिन थालेको छ। लेबनानमा स्थिति बिग्रिएपछि ८ लाख २२ हजारभन्दा बढी मानिसले आफूलाई विस्थापितका रूपमा दर्ता गराएका छन् ।
यसका साथै लेबनानबाट मानिसहरू सिरियातर्फ जान थालेका छन् । अधिकारीहरूका अनुसार हालसम्म ७८ हजारभन्दा बढी व्यक्ति लेबनानबाट सिरिया पुगेका छन् । संकट सुरु भएपछि इरानबाट अफगानिस्तान जाने मानिसको संख्या पनि बढेको छ, जहाँ करिब २४ हजार ८०० मानिस पुगेको जनाइएको छ ।
यसैबीच इरानी सेनाका प्रवक्ता अबोलफजल शेकरचीले मध्यपूर्वका देशहरूलाई अमेरिका र इसरायलविरुद्ध एकजुट हुन आह्वान गरेका छन् । उनले क्षेत्रका नेताहरूलाई अमेरिकामाथि भरोसा नगर्न चेतावनी दिँदै अमेरिका सुरक्षा सुनिश्चित गर्न सक्षम नभएको दाबी गरेका छन् ।

उनका अनुसार युद्धका क्रममा इरानलाई भएको भौतिक क्षति पुन: निर्माण गर्न सकिन्छ, तर अमेरिकाको विश्वसनीयतामा परेको क्षति भने सजिलै सुधार नहुने उनले बताएका छन् ।

अर्कोतर्फ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इरान युद्धका कारण कमजोर बनेपछि अब सम्झौता गर्न चाहिरहेको दाबी गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले अमेरिकी सेनाले इरानविरुद्ध प्रभावकारी काम गरेको तर त्यसबारे सञ्चारमाध्यमले पर्याप्त रूपमा समाचार नदिएको टिप्पणी गरेका छन् ।

ट्रम्पले इरानले सम्झौता गर्न चाहेको भए पनि आफूले स्वीकार गर्न नसक्ने प्रकारको सम्झौता प्रस्ताव गरिएको दाबी गरेका छन्।

FACEBOOK COMMENTS