काठमाडौँ । गैरआवासीय नेपाली संघको १२औँ महाधिवेशन काठमाडौँमा सुरु भएको छ। महाधिवेशन चैत २ गतेसम्म सञ्चालन हुनेछ ।
उद्घाटन समारोहमा बोल्दै परराष्ट्रमन्त्री बालानन्द शर्माले विश्वका केही क्षेत्रमा बढ्दो अस्थिरता र द्वन्द्वका कारण विदेशमा रहेका नेपालीको सुरक्षाप्रति चिन्ता बढेको बताएका छन्। विशेषगरी पश्चिम एसिया र मध्यपूर्व क्षेत्रमा विकसित घटनाक्रमका कारण त्यहाँ कार्यरत नेपालीहरूको अवस्थाप्रति नेपाल सरकारको चासो बढेको उनले बताए ।
मन्त्री शर्माले विदेशमा रहेका नेपाली नागरिकका समस्या सम्बोधनका लागि परराष्ट्र मन्त्रालयले आकस्मिक नियन्त्रण कक्ष सञ्चालनमा ल्याएको जानकारी दिए। उनले द्वन्द्व प्रभावित क्षेत्रमा रहेका नेपालीलाई सम्बन्धित देशका आधिकारिक सूचनामा ध्यान दिन र नजिकको नेपाली दूतावाससँग सम्पर्कमा रहन आग्रह गरे ।
कार्यक्रममा गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले नेपाललाई समृद्ध र शान्त देश बनाउने सम्भावना रहेको उल्लेख गर्दै त्यसका लागि सबै नेपाली एकजुट हुनुपर्ने बताए। उनले विदेशमा रहेका नेपालीले पठाउने रेमिट्यान्सलाई राष्ट्र निर्माणमा लगानी गर्नुपर्नेमा जोड दिएका छन् ।
चैत २ गतेसम्म (१४–१६ मार्च २०२६) काठमाडौँमा ’हाम्रो एकता, समृद्धिको आधार’ नाराका साथ १२ औँ गैरआवासीय नेपाली विश्व सम्मेलन तथा बृहत् अन्तर्राष्ट्रिय महाधिवेशन आयोजना काठमाडौँ शुरु भएको जानकारी दिइएको छ ।

सम्मेलनमा १४ तारिखको साँझदेखि १५ तारिखको साँझसम्म संघको नयाँ नेतृत्व चयनका लागि निर्वाचन गरिनेछ । निर्वाचन भौतिक र अनलाइन गरी हाइब्रिड मोडेलमा हुने र यसपटक ४ हजार २८६ प्रतिनिधिले भौतिक र अनलाइन माध्यमबाट निर्वाचनमा सहभागिता जनाउने तर यसपटक एकता महाधिवेशन भएकाले सर्वसम्मतिको पहल भइरहेको बताइएको छ ।

संघको महाधिवेशनको समापन चैत्र २ गते प्रधानमन्त्री सुशिला कार्कीले गर्ने कार्यतालिका रहेको संघले जानकारी दिएको छ । महाधिवेशनमा नेपाल सरकारका प्रतिनिधिहरू, विभिन्न राष्ट्रिय समन्वय परिषद्का गैरआवासीय नेपाली प्रतिनिधिहरू, एनआरएनका अभियन्ताहरू तथा स्वदेशी र विदेशी विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहको छ ।

FACEBOOK COMMENTS