काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंक कम्युनिकेसन्स लिमिटेडले नगरकोटमा नयाँ सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको छ।
नगरकोटका होटल, रिसोर्ट, रेस्टुरेन्ट तथा पर्यटनसम्बद्ध व्यवसायलाई लक्षित गर्दै कम्पनीले सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको हो। कार्यालयले विशेषगरी व्यावसायिक कनेक्टिभिटी, इन्टरप्राइज बिक्री तथा व्यवसाय विकासमा केन्द्रित भएर काम गर्नेछ।
आन्तरिक तथा बाह्य पर्यटकमाझ लोकप्रिय नगरकोटमा पछिल्लो समय होटल तथा रिसोर्ट व्यवसाय विस्तार हुँदै गएको छ। पर्यटकको अनलाइन बुकिङ, डिजिटल भुक्तानी, सञ्चार तथा होटल व्यवस्थापनमा इन्टरनेटको प्रयोग बढ्दै गएपछि भरपर्दो डिजिटल कनेक्टिभिटी आतिथ्य क्षेत्रको महत्वपूर्ण आवश्यकता बनेको छ।
वल्र्डलिंकको नयाँ सम्पर्क कार्यालयले स्थानीय पर्यटन व्यवसायीलाई इन्टरनेट तथा कनेक्टिभिटीसम्बन्धी आवश्यक समाधानबारे जानकारी दिनुका साथै सेवा समन्वयमा सहयोग गर्ने कम्पनीले जनाएको छ।
कार्यालयमार्फत होटल, रिसोर्ट, रेस्टुरेन्ट, व्यावसायिक प्रतिष्ठान तथा अन्य संस्थासँग प्रत्यक्ष सम्बन्ध विस्तार गर्ने, उनीहरूको आवश्यकता पहिचान गर्ने र उपयुक्त डिजिटल समाधान उपलब्ध गराउन सम्बन्धित टोलीसँग समन्वय गर्ने कम्पनीको लक्ष्य छ।

नगरकोट नेपालको महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै गर्दा पर्यटन पूर्वाधारसँगै डिजिटल पूर्वाधारको विकासलाई पनि प्राथमिकता दिनुपर्ने आवश्यकता देखिएको छ। वल्र्डलिंकले नयाँ कार्यालयमार्फत स्थानीय व्यवसायसँगको सहकार्य विस्तार गर्दै उनीहरूलाई डिजिटल रूपमा सक्षम बनाउन सहयोग पुग्ने अपेक्षा गरेको छ।
