काठमाडौं । नेपाल र भारतबीचको आर्थिक सम्बन्धलाई परम्परागत व्यापारिक आदानप्रदानबाट माथि उठाउँदै उत्पादन, लगानी र नवप्रवर्तनमा आधारित रणनीतिक साझेदारीमा रूपान्तरण गर्नुपर्ने नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले बताएका छन् ।
नयाँदिल्लीस्थित होटल ताजमा भारतीय उद्योग परिसंघ (सीआईआई)ले आयोजना गरेको ‘इन्डिया–नेपाल बिजनेस फोरम’मा बोल्दै अध्यक्ष अग्रवालले नेपाल र भारत भौगोलिक निकटता, ऐतिहासिक सम्बन्ध, संस्कृति, विश्वास तथा साझा आर्थिक आकांक्षाले जोडिएका स्वाभाविक आर्थिक साझेदार रहेको बताए ।
उनले दुवै देशले एकअर्कालाई केवल बजारका रूपमा नभई उत्पादन, नवप्रवर्तन, लगानी, प्रविधि हस्तान्तरण र साझा समृद्धिका साझेदारका रूपमा हेर्नुपर्ने धारणा राखे । लामो समयदेखि आर्थिक सम्बन्ध कायम रहे पनि व्यापार, लगानी र औद्योगिक सहकार्यका क्षेत्रमा पर्याप्त सम्भावना उपयोग हुन नसकेको उनको भनाइ थियो ।
अग्रवालले नेपाल–भारत आर्थिक साझेदारीलाई प्रभावकारी बनाउन व्यापार सहजीकरण तथा बजार पहुँच, लगानी तथा औद्योगिक सहकार्य, ऊर्जा तथा कनेक्टिभिटी, प्रविधि तथा डिजिटल अर्थतन्त्र र पर्यटन, कृषि एवं साना तथा मझौला उद्यमलाई प्राथमिकताका क्षेत्रका रूपमा प्रस्तुत गरे ।
उनका अनुसार व्यापार सहज बनाउन गैरभन्सार अवरोध न्यूनीकरण, भन्सार प्रक्रिया सरलीकरण, सीमावर्ती नाकामा हुने ढिलाइ समाधान, मापदण्डको सामञ्जस्यता तथा व्यापार नीतिमा स्थिरता आवश्यक छ । सीमापार व्यापारलाई समय र लागतका हिसाबले प्रभावकारी बनाउनु दुवै देशको साझा प्राथमिकता हुनुपर्ने उनले बताए ।
नेपालमा जलविद्युत्, कृषि, उत्पादनमूलक उद्योग, सूचना प्रविधि, पूर्वाधार, स्वास्थ्य सेवा तथा खनिजमा आधारित उद्योगमा लगानीको सम्भावना रहेको उल्लेख गर्दै उनले भारतीय लगानीकर्ताले संयुक्त लगानी, प्रविधि हस्तान्तरण, मूल्य शृंखला एकीकरण र दीर्घकालीन पूँजी लगानीमार्फत नेपालको औद्योगिक विकासमा योगदान गर्न सक्ने बताए ।

ऊर्जा सहकार्यलाई द्विपक्षीय आर्थिक सम्बन्धको महत्वपूर्ण आधार बनाउनुपर्नेमा जोड दिँदै अग्रवालले विद्युत् व्यापार विस्तार, सीमापार प्रसारण पूर्वाधार विकास तथा ऊर्जा उपयोग गर्ने उद्योगमा लगानी प्रवद्र्धन गर्नुपर्ने धारणा राखे ।

त्यस्तै, डिजिटल अर्थतन्त्र र नवप्रवर्तनका क्षेत्रमा कृत्रिम बुद्धिमत्ता (एआई), वित्तीय प्रविधि, डिजिटल भुक्तानी, सूचना प्रविधि स्टार्टअप तथा ज्ञान आदानप्रदानलाई द्विपक्षीय साझेदारीको हिस्सा बनाउनुपर्ने उनले बताए ।

पर्यटन, कृषि आधुनिकीकरण, खाद्य प्रशोधन तथा सूक्ष्म, साना र मझौला उद्यमबीचको सम्बन्ध सुदृढीकरणमा पनि नेपाल–भारत सहकार्यको ठूलो सम्भावना रहेको अग्रवालको भनाइ थियो । एकीकृत पर्यटन मार्ग, सीमापार पर्यटन लगानी, कृषि उत्पादनको आधुनिकीकरण र खाद्य प्रशोधन उद्योगको विकासले रोजगारी सिर्जना तथा समावेशी आर्थिक वृद्धि प्रवद्र्धन गर्न सक्ने उनले उल्लेख गरे ।

निजी क्षेत्रका प्रतिनिधिका रूपमा संवाद र घोषणामा मात्र सीमित नभई ठोस साझेदारी, मापनयोग्य उपलब्धि तथा कार्यान्वयनयोग्य प्रतिबद्धतामा जोड दिनुपर्ने अग्रवालले बताए । यस्तो साझेदारीले युवाका लागि रोजगारी सिर्जना गर्ने, उद्यमशीलता प्रवद्र्धन गर्ने, महिला नेतृत्वका उद्यमलाई सशक्त बनाउने तथा साना र मझौला व्यवसायको प्रतिस्पर्धात्मक क्षमता बढाउने लक्ष्य राख्नुपर्ने उनको धारणा थियो ।
नेपाल र भारतको आर्थिक भविष्य एकअर्कासँग अन्तरसम्बन्धित रहेको उल्लेख गर्दै अग्रवालले सरकार, निजी क्षेत्र, लगानीकर्ता तथा व्यावसायिक संस्थाबीच निरन्तर सहकार्य, विश्वास र साझा प्रयासबाट द्विपक्षीय आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन सकिने विश्वास व्यक्त गरे ।
प्रधानमन्त्री बालेन्द्र शाहको दुईदिने राजकीय भारत भ्रमणका अवसरमा आयोजित उक्त कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय उद्योग वाणिज्य राज्यमन्त्री जितिन प्रसादलगायतको उपस्थिति रहेको थियो ।