काठमाडौं । काठमाडौंको कालोपुलस्थित कोठाबाट सुनचाँदीका गरगहना चोरिएको घटनामा संलग्न आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौंकै बूढानीलकण्ठ नगरपालिका–२ का २३ वर्षीय उपेन्द्र खत्री र कैलालीको गौरीगंगा नगरपालिका–२ का २६ वर्षीय निरज सापकोटा छन् ।
यही चैत ६ गते काठमाडौं महानगरपालिका–५, कालोपुलस्थित एउटा घरको कोठाबाट अन्दाजी २६ तोला आठ आनाबराबरको सुनका गरगहना चोरिएको थियो । सोही कोठाबाट ३३ हजार रुपैयाँबराबरको चाँदीका गहना तथा सामग्री तथा १० हजार भारु र ४५ हजार नेरु चोरी भएको प्रहरीले जनाएको छ ।
घटना अनुसन्धानका क्रममा शनिबार राति करिब ९:५० बजे खत्री र सापकोटालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए ।
उनीहरूका साथबाट विभिन्न गरगहना, खुकुरी, फलामको रड, तरबार, नगद दुई लाख ४९ हजार र चोरी गर्दा प्रयोग भएको एउटा स्कुटर समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

FACEBOOK COMMENTS