काठमाडौं, भदौ ८ – अमेरिकामा कोरोना भाइरस संक्रमितका गम्भीर विरामीहरूको प्लाज्मा थेरापीबाट उपचार गर्न फुड एन्ड ड्रग एडमिनिस्ट्रेशन (एफडिए)ले स्वीकृति दिएको छ।
प्लाज्मा थेरापीबाट उपचार गरेका २० हजार संक्रमितको अवस्था अध्ययनपछि यो थेरापी सुरक्षित छ भनी निर्धारण गरिएको एफडिएका निर्देशक स्टिफिन हानले बताएका छन्।
हालसम्म अमेरिकामा ७० हजार संक्रमितको प्लाज्मा थेरापीबाट उपचार गरिएको पनि उनले जानकारी दिएका छन्।
प्लाज्मा थेरापीबाट बिरामीको उपचार गर्ने बारेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा पत्रकार सम्मेलनमार्फत जानकारी गराएका हुन्।
ट्रम्पले पत्रकार सम्मेलनमा बताएअनुसार प्लाज्मा थेरापी गर्दा मृत्युदर ३५ प्रतिशतभन्दा कम हुन सक्छ। उनले कोरोना संक्रमणबाट निको भएका अमेरिकीहरूलाई प्लाज्मा दान गर्न आग्रह गरेका छन्।
अमेरिकाले कोरोना भाइरसको खोप जतिसक्दो छिटो बनाउने ट्रम्पको भनाइ छ।
अमेरिका कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित मुलुक हो। हालसम्म एक लाख ७६ हजारको मृत्यु भइसकेको छ।
FACEBOOK COMMENTS