सुर्खेत । कर्णालीमा यातायात व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । प्रहरीले सुर्खेत बसपार्कबाट पाँच जना यातायात मजदुर पक्राउ गरी मुद्दा चलाएको बिरोधमा कर्णालीमा सञ्चालन भएको सबै यातायात व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन् ।
व्यवसायीहरूले शुक्रबारदेखि सबै सार्वजनिक यातायात सेवा बन्द गर्ने घोषणा गरेका छन् । उनीहरुले प्रहरीले सार्वजनिक सवारीका चालक तथा मजदुरलाई दु:ख दिएको आरोप लगाएका छन् ।
यातायात व्यवसायीहरूले निजी प्रयोजनका लागि दर्ता भएका रातो नम्बर प्लेटका सवारीसाधनहरूलाई नियन्त्रणमा लिनुपर्नेमा त्यसतर्फ कुनै कडाइ नगरी उल्टै सार्वजनिक सवारीमाथि मात्र दबाब सिर्जना गरिएको बताएका छन् ।
कर्णाली प्रदेशका विभिन्न जिल्लामा रातो प्लेटका सवारी साधनले यात्री बोक्ने गर्दछन् । यातयात व्यवसायीले रातो प्लेटका सवारी साधनलाई रोक्नुको साटो उल्टो प्रहरीले संरक्षण गर्न खोजेको आरोप लगाएका छन् ।
व्यवसायीको आन्दोलनका कारण शुक्रबारदेखि सुर्खेतबाट सञ्चालन हुने लामो तथा छोटो दूरीका सम्पूर्ण सवारी सेवा प्रभावित भएका छन् ।

प्रहरीले भने सुर्खेत बसपार्कमा यात्रु तानातान गरिरहेका पाँच जनालाई पक्राउ गरेको बताउदै यातायात व्यवसायीसँग यस विषयमा छलफल भइरहेको बताएको छ ।
