काठमाडौं । राप्रपाकी सांसद खुस्बु ओलीले विदेशी ऋण लिने सरकारको निर्णयप्रति आपत्ति जनाएकी छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै कुन नीतिगत बहसका आधारमा ऋण लिइएको भन्दै प्रश्न गरिन्।
उनले भनिन्, ‘हाम्रो संसद् अझै शिशु अवस्थामा छ। संसदीय समिति र उपसमितिहरू बनेका छैनन्।
यस्तो अवस्थामा सरकारले गरेको निर्णय पारदर्शी नहुने सम्भावना छ। उक्त ऋण हामीले माग गरेको थियौँ कि प्रस्ताव आएको थियो ? यसको सरकारले संसद्मा जवाफ देओस्।’उनले बजेट वितरणमा सरकारले एकरूपता ल्याउन पनि सरकारको ध्यानाकर्षण गराइन्।
मध्यपूर्वको तनावको प्रभाव जनताको भान्छामा समेत परेको भन्दै पेट्रोलियम पदार्थमा लगाएको कर घटाएर भए पनि सहुलियत दिनको लागि आग्रह गरिन्।
