काठमाडौं । चिनियाँ अटोमोबाइल ब्राण्ड केयीको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी ई–मोबिलिटी र जीओ अटोमोबाइल्सले नेपाली नयाँ वर्ष २०८३ को उपलक्ष्यमा देशव्यापी ‘केयी एक्सचेञ्ज क्याम्प’ सञ्चालन गर्ने घोषणा गरेका छन् ।
यो एक्सचेन्ज कार्निभल आगामी शुक्रबारदेखि आइतबार अर्थात् (चैत २७ देखि २९ गते) सम्म देशभरका आधिकारिक केयी शोरूमहरूमा सञ्चालन गरिने कम्पनीले जानकारी दिएको छ ।
नयाँ योजनाअन्तर्गत ग्राहकहरूले आफ्ना पुराना सवारी साधनसँग नयाँ केयीका इलेक्ट्रिक र कम्प्याक्ट मोडलहरू साट्न सक्नेछन् । क्याम्पमा सहभागी हुने ग्राहकका लागि कम्पनीले नयाँ वर्ष विशेष नगद फाइदा र आकर्षक एक्सचेन्ज बोनस, पुराना सवारीको उत्कृष्ट मूल्याङ्कन, सजिलो फाइनान्सिङ र अटो बीमा सुविधा तथा सात किलोवाट वा तीन किलोवाट चार्जरको विकल्पलगायत सुविधा उपलब्ध गराएको कम्पनीले जनाएको छ ।
साथै, प्रत्येक गाडी बुकिङमा जोडीका लागि धुलिखेलस्थित दुसित थानी रिसोर्टमा एक रातको नि:शुल्क प्याकेजको विशेष अफर पनि कम्पनीले घोषणा गरेको छ ।
काठमाडौंको हकमा यो कार्यक्रम थापाथलीस्थित केयी शोरूम नजिकै बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुने छ । कार्यक्रमलाई रोचक बनाउन त्यहाँ लाइभ फुड स्टलहरू र विभिन्न मनोरञ्जनात्मक गतिविधिहरू समेत आयोजना गरिने कम्पनीले जनाएको छ ।

कार्यक्रममा ग्राहकहरूले केयीका लोकप्रिय मोडलहरू केयी ई–कोट ०२, केयी ई–कोट ०४ र केयी एक्स३ प्रो ईभी अवलोकन र टेस्ट ड्राइभ गर्न सक्ने छन् ।

चिनियाँ प्रसिद्ध ब्राण्ड चेरीको सहायक ब्राण्डका रूपमा रहेको केयी अटोले सन् २०२४ मा नेपाली बजारमा प्रवेश गरेको हो । किफायती र मूल्यवान सवारी साधन उपलब्ध गराउँदै आएको यस ब्राण्डको देशभर बिक्री तथा सेवा नेटवर्क विस्तार भइसकेको लक्ष्मी ई–मोबिलिटीले जानकारी दिएको छ ।