काठमाडौं । बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रले ८९ वर्षीया वृद्धामा सफलतापूर्वक कोरोनरी एन्जियोप्लास्टी गरेको छ ।
हृदयघात (हार्ट अट्याक) भएपछि आज बुधबार गंगालाल राष्ट्रिय हृदय केन्द्र पुर्याइएकी ती वृद्धामा सफल कोरोनरी एन्जियोप्लास्टी गरिएको उपचारमा संलग्न वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अरुण मास्केले जानकारी दिए ।
डा. मास्केका अनुसार एन्जियोप्लास्टी सफल भएको र हाल उनको स्वास्थ्य अवस्था स्थिर (खतरामुक्त तर पूर्ण निको नभएको) छ । परिवार स्रोतका अनुसार उनी अहिले चिकित्सकहरूको उच्च निगरानी रहेको र स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ ।
गंगालालमा सफल कोरोनरी एन्जियोप्लास्टी गरिएकी ती वृद्धा नेपाली तथा भारतीय प्रसिद्ध अभिनेत्री माला लोहनी (सिंहा) हुन् । उनले नेपाली, भारतीय र बङ्गाली चलचित्रमा अभिनय गरेकी छिन् ।
नेपाली चलचित्र ‘माइतीघर’मा अभिनय गरेकी उनले सबैभन्दा बढी भारतीय चलचित्रमा अभिनय गरेकी छिन् । उनी अभिनित भारतीय चलचित्रहरू ‘प्यासा’, ‘धूल का फूल’, ‘अनपढ’, ‘दिल तेरा दिवाना’, ‘गुमराह’, ‘हिमालय की गोद मे’ र ‘आँखे’ सर्वाधिक सफल मानिन्छन् ।

उनको विवाह नेपाली उद्योगी सीपी लोहनीसँग भएको थियो । उनकी छोरी प्रतिभा सिन्हा हुन् । उनी पनि भारतीय चलचित्रकी अभिनेत्री हुन् ।

यो पनि पढ्नुहोस्–
