काठमाडौं, भदौ ११ – कञ्चनपुरको महाकाली नगरपालिकामा उच्च ज्वरोको लक्षण देखिएका तीन जनाको मृत्यु भएको छ। उच्च ज्वरोका कारण १३ वर्षीया पूजा बोगटी, ६५ वर्षीय गम्भीर भण्डारी र २१ वर्षीय प्रेम बहादुर चन्दको मृत्यु भएको हो । पूजाको दोधारा स्वास्थ्य केन्द्रमा उपचार हुन नसक्दा थप उपचारका लागि कैलालीको धनगढी पठाईएकोमा उपचारका क्रममा मृत्यु भएको महाकाली नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख जय बहादुर महराले बताए।
‘गम्भीरमा सुगर, उच्च रक्त चाप र ज्वरोका कारण उपचारका क्रममै मृत्यु भएको हो’ उनले भने, ‘प्रेमलाई परिवारजनले स्वास्थ्य केन्द्रमा उपचारका लागि ल्याउने क्रममा मृत्यु भएको छ।’ उच्च ज्वरो देखिएका चार जनालाई कैलालीको धनगढी उपचारका लागि पठाईएकोमा केही निको भएर घर फिर्ता भएको र केही उपचारका क्रममा रहेको उनले बताए। उनका अनुसार मृत्यु भएका र ज्वरोको समस्या देखिएका सबै जनाको रगतको नमूना चेकजाँचका लागि पठाइए पनि रिपोर्ट आइसकेको छैन्।
उच्च ज्वरोको समस्या लिएर आउने व्यक्तिहरुमा लामखुट्टेको टोकाइबाट हुने जापानीज इन्सेफलाइटिसलगायतसँग मिल्दोजुल्दो लक्षणहरु रहेकाले सो रोगको संक्रमण हुन सक्ने उनले बताए । मृत्यु भएका सबैमा १०३ डिग्री ज्वरो देखिएको थियो। दोधारा प्राथमिक स्वास्थ्य केन्द्रका अनुसार १० दिन अघि देखि उच्च ज्वरोको समस्या देखिएको छ। दोधारा प्राथमिक स्वास्थ्य केन्द्रका डा गगन चौधरीले लक्षण देखिएको ३ देखि ४ दिनभित्र सबैको मृत्यु भएको बताए। डा चौधरीले यो रोगको बारेमा केही पत्ता नलागेकोले ज्वरो आउने बित्तिक्कै प्राथमिक स्वास्थ्य केन्द्रमा सम्पर्क गर्न स्थानिय बासिन्दालाई आग्रह समेत गरेका छन्।
FACEBOOK COMMENTS