काठमाडौं । महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेललाई पदीय जिम्मेवारी पूरा गर्न सहज भएको छ । कँडेलको योग्यतामा प्रश्न उठाउँदै अधिवक्ता माधव बस्नेतको रिट प्रशासनले दरपीठको निर्णय सर्वोच्च अदालत सदर गरिदिएको छ ।
दरपीठविरुद्ध अदालत गएका बस्नेतको रिटमाथि सुनवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश डा.मनोकुमार शर्माको एकल इजलासले सदर गरेको हो ।
शर्माको इजलासले सदर गरेसँगै कँडेललाई काम गर्न सहज भएको हो । अधिवक्ता बस्नेतले ३० चैतमा दरपीठको आदेशविरुद्ध अदालतमा निवेदन दिएका थिए ।
रजिस्ट्रार भद्रकाली पोखरेलले असाधारण अधिकार क्षेत्रअन्तर्गत दर्ताका लागि आएको निवेदन दर्ता गर्न नमिल्ने आदेश गरेका थिए । उत्तरी आयरल्याण्डमा बस्दै आएका कँडेलको योग्यता नपुग्ने बस्नेतको दाबी थियो ।
महान्यायधीवक्ताका लागि सर्वोच्च अदालतको न्यायाधीशसरह रहने संवैधानिक व्यवस्था रहेको छ ।

त्यसका लागि कम्तीमा १५ वर्ष निरन्तर वकालत गरेको हुनुपर्ने व्यवस्था रहेको छ । आयरल्याण्डमा रेष्टुराँ चलाएर बस्ने कँडेलले निरन्तर १५ वर्ष वकाल नगरेको भन्दै बस्नेतले योग्यतामा प्रश्न उठाएका हुन् ।
