काठमाडौं । संसदीय समिति सभापतिको निर्वाचनमा मतदानका निम्ति नेपाली कांग्रेसले आन्तरिक ‘सर्कुलर’ गरेको छ । आज दिउँसो १ बजे हुने निर्वाचनका निम्ति कांग्रेसले आफ्ना सांसदलाई निर्देशन जारी गरेको हो ।
कांग्रेस सांसदलाई प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापति पदमा नेकपा (एमाले)का उमेदवार गुरु बरालका पक्षमा मतदान गर्न भनिएको छ ।
यस्तै, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति (संयुक्त) सभापतिमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की उमेदवार मदनकुमारी शाहका पक्षमा मतदान गर्न निर्देशन दिइएको कांग्रेसका एक सांसदले जानकारी दिए ।
यी समिति सभापतिमा प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट पनि उमेदवारी दिइएको छ । रास्वपाले प्रतिनिधिसभाअन्तर्गतका १० र दुई संयुक्त गरी १२ मध्ये ११ सभापतिका निम्ति उमेदवारी दिएको छ । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समिति सभापति पद भने प्रतिपक्षलाई दिइने परम्परालाई रास्वपाले पछ्याएको छ ।