काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजा/भाङको तेलजस्तो देखिने तरल पदार्थ रहेको १.२५ लिटरको पाँच थान बोतलसहित एक जना अमेरिकी नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ४६ वर्षीय ओग्नियन पेट्रोभ रहेको विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिए । उनले भने, ‘एअर इन्डियाको उडान नम्बर एआई २१८ मा काठमाडौंबाट दिल्ली जान लागेका निजले लिइआएको लगेज चेकिङ एरियामा स्क्रिनिङ गर्दा शङ्कास्पद देखिएपछि खोल्न लगाई हेर्दा गाँजा/भाङको जस्तो देखिने तेल फेला पारिएको हो ।’
पक्राउ परेका उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि लागुऔषध नियन्त्रण ब्युरोबाट विमानस्थलमा खटिएको प्रहरी टोलीको जिम्मा लगाइएको प्रवक्ता सिलवालले बताए ।