काठमाडौं । विवादास्पद व्यवसायी दिपक भट्ट र उनी संलग्न कम्पनीको शेयर खरिद प्रकरणबारे प्रश्न उठेपछि हिजो बुधबार गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएका छन् ।
प्रधानमन्त्री बालेन्द्र साह नेतृत्वको सरकारमा सुरुदेखि नै आक्रामक शैलीमा प्रस्तुत हुँदै आएका गुरुङमाथि सम्पत्ति र शेयर लगानीसम्बन्धी प्रश्न उठेपछि उनले नैतिकताको आधारमा बुधबार राजीनामा दिएका हुन् ।
गुरुङको राजीनामापछि अहिले गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री स्वयंले सम्हालिरहेका छन् । मन्त्री नियुक्त भएको २६ दिनमै सुधनले पदबाट राजीनामा दिएपछि अब नयाँ गृहमन्त्री को बन्ला भनेर आम चासो बढेको छ । सरकारको अत्यन्त संवेदनशील र शक्तिशाली मानिने गृह मन्त्रालयको नेतृत्व कसको हातमा पुग्ला भन्ने प्रश्नमाथि प्रमुख राजनीतिक बहसको विषय समेत बनेको छ ।
सुधन गुरुङको बर्हिगमनसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गृहमन्त्री बन्न आधा दर्जन सांसदहरूले लबिङ सुरू गरेका छन् । सभापति रवि लामिछानेनिकट समूह र प्रधानमन्त्री बालेन साह निकट सांसदहरूबीच आन्तरिक रणनीति निर्माण भइरहेको छ ।
यसैबीच, धनुषा–३ बाट निर्वाचित मनिष झा गृहमन्त्रीका बलिया दाबेदारका रूपमा हेरिएका छन् । उनी अघिल्लो संसदमा समानुपातिक सांसद थिए । अघिल्लो साता पार्टीले उनलाई एक संसदीय समितिको सभापति बन्न प्रस्ताव गरे पनि अस्वीकार गरेका थिए । जसलाई कतिपयले उनी मन्त्री बन्ने तयारीका रूपमा व्याख्या गरेका छन् ।

यस्तै, पार्टी महामन्त्री कवीन्द्र बुर्लाकोटीको नाम पनि अगाडि आएको छ । उनी संस्थापक नेता तथा सभापति लामिछानेका विश्वासपात्रका रूपमा चिनिन्छन् । गोरखा–२ बाट निर्वाचित बुर्लाकोटी हालै मात्र संसदीय दलका मुख्य सचेतक नियुक्त भएका छन् ।

यसबाहेक पूर्व एआईजी विश्वराज पोखरेलको नाम पनि चर्चामा आएको छ । प्रहरी सङ्गठन र गृह प्रशासनको राम्रो अनुभव भएका कारण उनलाई गृहमन्त्री बनाउँदा प्रभावकारी काम गर्न सक्ने विश्वास केही नेताहरूले व्यक्त गरेका छन् ।

यस्तै सर्लाहीबाट नेपाली कांग्रेसका सभापति गगन कुमार थापालाई पराजित गरेका अमरेश कुमार सिंहले पनि गृहमन्त्री बन्ने इच्छा प्रकट गरेका छन् । यसअघि बालेन साहले उद्योग तथा वाणिज्यमन्त्री बन्न गरेको प्रस्तावलाई अस्वीकार गरेका अमरेश अहिले गृहमन्त्री बन्ने दौडमा रहेको बुझिएको छ ।
पार्टी सभापति रवि लामिछानेसँग निकट रहेर काम गरेका दीपक बोहोराले पनि गृहमन्त्री बन्ने इच्छा देखाएका छन् । तर, प्रधानमन्त्री बालेन साहले भने तत्काल नयाँ गृहमन्त्री नियुक्त गर्ने मनस्थिति बनाएका छैनन् ।
बालुवाटार स्रोतका अनुसार गुरुङमाथि लागेको आरोपबारे विस्तृत छानबिन नगरी नयाँ मन्त्री नियुक्ति गर्नु उचित नहुने निष्कर्षमा प्रधानमन्त्री पुगेका छन् । त्यसैले हाल गृह मन्त्रालय आफ्नै मातहतमा राखेर गुरुङसँग जोडिएको प्रकरणबारे छानबिन समिति गठन गर्ने तयारी भइरहेको छ ।
राजनीतिक वृत्तमा यसलाई अघिल्लो प्रकरणसँग पनि जोडेर हेरिएको छ । पूर्वअर्थमन्त्री जनार्दन शर्मा विवादमा परेपछि संसदीय छानबिन समिति गठन भई उनले राजीनामा दिएका थिए । पछि समितिले निर्दोष साबित गरेपछि उनलाई पुन: मन्त्रीमा नियुक्त गरिएको थियो ।
अहिले पनि छानबिन समिति बनाउने, स्वतन्त्र पार्टीको बहुमत भएका कारण सुधन गुरुङलाई निर्दोष साबित गर्ने र उनैलाई गृहमन्त्रीमा फर्काउन सक्ने कतिपयको बुझाई छ । यद्यपि, बालुवाटार स्रोतले भने बुधबार मात्रै सुधन गुरुङले राजीनामा दिएको र यस विषयमा छानबिनको तयारी भएकाले तत्काल नयाँ गृहमन्त्रीको सम्भावना नरहेको बताएको छ ।
रास्वपाका अनुसार अबको केही दिनभित्रै छानबिनको प्रक्रिया, पार्टीभित्रको सहमति र राजनीतिक सन्तुलनका आधारमा नयाँ गृहमन्त्रीको टुङ्गो लाग्ने बताइएको छ ।