काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले राजनीतिक नियुक्ति पाउने पदाधिकारीहरूले सरकार परिवर्तनसँगै पद छोड्नुपर्ने बताएका छन् ।
उनले दलहरूको राजनीतिक हैसियतका आधारमा प्राप्त पदमा बसेका व्यक्तिहरूले सरकार फेरिएपछि विभिन्न बहाना, आन्दोलन वा अदालत धाउने प्रवृत्ति गलत भएको टिप्पणी गरेका छन् । त्यस्ता व्यक्तिहरूले पदमा बसिरहन खोज्नु उचित नहुने उनको भनाइ छ ।
उनले भनेका छन्– ’पार्टीहरुको राजनीतिक हैसियतका आधारमा नियुक्ति पाउने पद र पाएका ब्यक्तिहरुले सरकार फेरिए पछि ईफ, बट, धर्ना, जुलस, आन्दोलन, अदालत धाउने होईन, खुरुक्क त्यो जागीर त्यै दिनबाट छोडेर घर जाने हो ।’
बास्कोटाले एमाले, कांग्रेस र नेकपालगायत दललाई यस विषयमा अनावश्यक विवाद नगर्न आग्रह गर्दै यस्तो प्रवृत्तिले व्यक्तिको मात्र नभई समग्र समाजको हितमा नपर्ने बताएका छन् ।