काठमाडौं । राधास्वामी सत्संत व्यास आश्रममा सञ्चालित होल्डिङ् सेन्टरमा भएका बालबालिकाहरुलाई संस्थागत विद्यालयहरुमा आवासीय सुविधासहित नि:शुल्क नियमित अध्ययनको व्यवस्थाका लागि महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, निजी तथा संस्थागत विद्यालयका संघसंगठनका पदाधिकारीहरुसँग छलफल गरेकी छिन् ।
राष्ट्रिय सभा गृहमा भएको छलफलमा प्याब्सन र एनप्यासनका केन्द्रीय, जिल्ला र महानगर स्तरीय समितिका पदाधिकारी सहभागी थिए ।
‘नदी किनाराका अव्यवस्थित बस्ती खाली गर्ने क्रममा अहिले कीर्तिपुर स्थित राधास्वामी सत्संग आश्रममा रहेका बालबालिकाहरुलाई आवास सुविधा सहित नि:शुल्क अध्ययन गराउन हामीले यस्तो सुविधा भएका निजी तथा संस्थागत विद्यालयहरुबाट सहयोगको अपेक्षा गरेका छौँ ।’
छलफलमा कार्यवाहक प्रमुख डंगोलले भनिन्, ‘मलाई थाहा छ । तपाईँहरुले यावत प्रश्न छन् । हामीसँग ती प्रश्नहरुको जवाफ खोजीरहनु भएको छ । हामी ती प्रश्नको जवाफ दिन्छौँ । तर, अहिले प्रश्नभन्दा माथि उठेर काम गर्नु पर्ने बेला हो । अव्यवस्थित बस्तीबाट होल्डिङ सेन्टरमा राखिएका बालबालिकाहरुको शिक्षाका लागि हामी सबैले मिलेर काम गरौँ । उनीहरुलाई नियमित विद्यालय जाने अवसर प्रदान गरौँ । हामी मिलौँ र बालबालिकाको सर्वोत्तम हितमा काम गरौँ ।’
संस्थागत सामाजिक उत्तरदायित्व र मानवताका दृष्टिले सहकार्य अगाडि बढाउन कार्यवाहक प्रमुखको अनुरोध थियो ।

उनको प्रस्तावमा प्याव्सनका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद अधिकारी, एनप्याब्सनका अध्यक्ष सुवास न्यौपाने, प्याव्सनका महासचिव आ वि कटुवाल, एनप्याब्सनका महासचिव प्रकाश खड्काले वर्तमान अवस्थामा महानगरपालिकाले बालबालिकाको शिक्षाका लागि सहकार्यका लागि अघि सारेको तत्परताले आफूहरुलाई पनि जिम्मेवार बोध गराएको उल्लेख गरे ।

छलफलमा काठमाडौँ जिल्ला प्याब्सनका अध्यक्ष नवराज भट्ट, उपाध्यक्ष सूर्य भण्डारी, काठमाडौँका जिल्ला अध्यक्ष अमृत खड्का, काठमाडौँ महानगर प्याब्सनका अध्यक्ष गगनसिंह ऐर, एनप्याब्सन महानगर समितिका अध्यक्ष नवराज पाण्डे सहभागी थिए ।

कार्यवाहक प्रमुखको प्रस्तावका विषयमा प्याब्सन र एनप्याब्सनको बैठक बसेर आफूहरुले पूरा गर्नु पर्ने दायित्वका विषयमा महानगरपालिकालाई खबर गर्ने अधिकारीहरुले जनाए ।