काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारको स्थायित्वलाई मुलुक विकासको अवसरका रुपमा सदुपयोग गर्नुपर्ने बताएका छन् ।
महासंघको ६० औं वार्षिक साधारणसभा उद्घाटनका अवसरमा सोमबार बोल्दै अध्यक्ष ढकालले भने, ‘सरकारको स्थायित्वलाई मुलुकको विकास र यस मार्फत सबै क्षेत्रमा स्थायित्व प्रदान गर्ने अवसरका रुपमा सदुपयोग गरिनुपर्छ ।’
उनले मुलुकसामू अभूतपूर्व अवसर आएको भन्दै स्थायी सरकार नभएर नीतिगत स्थायित्व खोजिरहेको समयमा एकै दलको झण्डै दुई तिहाई संसदमा उपस्थिति उल्लेखनीय अवसर भएको बताए ।
विगतमा यस्तै सम्भावनालाई अवसरमा बदलेर प्रगति गर्नबाट चुकेका धेरै उदाहरण रहेको भन्दै उनले निजी क्षेत्रले सम्मानित भएर व्यवसाय गर्न पाएमा प्रगति गर्ने पर्याप्त अवसर रहेको बताए ।
नेपालीको मिडियन उमेर २५ वर्ष रहेको, छिमेकी भारत र चीनमा पर्याप्त बजार रहेको र विकसित देशमा भन्सार रहित बजार पहुँच पाइरहेको समयमा नेपालका उत्पादन विश्व बजारमै प्रतिस्पर्धी हुने उनको भनाइ छ । युवाको चाहना पूरा गर्न व्यवहारमै रोजगारी र स्वरोजगारीका अवसर सिर्जना गर्नुपर्ने उनले बताए ।

अत्याधिक नियमनका कारण लगानीको वातावरण बन्न सकेन

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अत्याधिक नियमनका कारण लगानीको वातावरणा बन्न नसकेको बताएका छन् । सोमबार नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारण सभामा उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा ढकालले भने, ‘सरकारको ध्यान लगानीको वातावरण हुनुपर्छ । तर अत्याधिक नियमनका कारण त्यस्तो वातावरणा बन्न सकेको छैन । निजी क्षेत्रको महत्व बुझ्न आग्रह गर्दछु । जुन देशमा निजी क्षेत्रलाई बुझेको छ त्यस देशको आर्थिक उननती भएको छ ।’
उनका अनुसार अहिलेको चासो नागरिकको सहज जीवनयापन हो । मुलुकको बिकासका लागि सबैले आय आर्जनका अवसर पाउनु पहिलो शर्त हो । कमाउनका लागि पैसा, बुद्धि, विवेक सीपको लगानी गर्नुपर्यो । त्यो भन्दा पनि पहिले पैसाको लगानी हुनु आवश्यक छ । जसले पछि उत्पादन गर्दा श्रम र सीपको माग गर्नेछ ।
‘देशभित्रै मर्यादित र उच्च ज्याला सहीतको रोजगारीका अवसर जबसम्म हामी सिर्जना गर्न सक्दैनौ, निराशालाई आशामा बदल्न सकिदैन । भदौको आन्दोलन त्यसैको प्रतिफल होु,’ उनले भने, ‘रोजगारी प्रदान गर्न सरकारको सिमितता छ । तर हरेक बर्ष श्रम बजारमा प्रवेश गर्ने करिब पाँचलाख युवालाई रोजगारी दिनसक्ने क्षमता नेपालको निजी क्षेत्रमा पनि छैन । नयाँ र पुराना गरि बर्षको करिब ७ लाख युवा काम खोज्दै विदेशिने गरेका छन् ।’
सन १९६० ताका नेपालको प्रतिव्यक्ति आय ५० डलर र दक्षिण कोरियाको करिब सय डलर थियो । अहिले कोरियाको प्रतिव्यक्ति आय ४० हजार डलर हाराहारी छ भने नेपालको १४ सय । हामीकहाँ प्रगति भयो तर जति हुनुपर्ने थियो हुन नसकेको उनको भनाई छ ।
भुमण्डलीकरणले नागरिकको आवश्यकता र चाहना मात्रै बढेन क्षमता अनुसारको काम पाउन सारा संसार खुला भएकोले त्यसैले ठुला अर्थतन्त्रमा हामीले काम पाउने भएपनि आफ्नो अर्थतन्त्र ठूलो बनाउन नसकेको उनले बताए ।
तीन दशकमा नेपालको अर्थतन्त्र औसत ४ प्रतिशतले वृद्धि भएको छ । विदेशी लगानी वार्षिक रुपमा कुल गार्हस्थ्य उत्पादनको एक प्रतिशत काट्न सकेको छैन् । २०४८ पछि अर्थतन्त्रमा अभूतपूर्व परिवर्तन आए । त्यतिबेलाका नीतिहरुको जगमा हाम्रो अर्थतन्त्र अहिलेसम्म चलिरहेको छ।
२०७२ पछि पनि यो अवसर आयो । सात प्रतिशत माथि अर्थतन्त्रको वृद्धि भयो । त्यसपछि स्थायित्व हुन सकेन । कोभिड १९ महामारीले अर्थतन्त्र थिचियो । कोभिड लगत्तै झण्डै ६ प्रतिशत आर्थिक वृद्धि भयो। सुधारका पर्याप्त सम्भावना देखिएका थिए । तर बजारको माग नियन्त्रण गर्न अपनाइएका नीतिगत निर्णयले बजारलाई अझै चलायमान हुन नदिएको उनले बताए ।
‘अहिले मध्यपूर्वमा देखिएको संकटले आफ्नो अर्थतन्त्र ठूलो बनाउनुपर्ने महत्व झन देखिएको छ । संकटले पर्यटन उद्योग प्रभावित भएको छ। इन्धनमा भएको भारी वृद्धिले लागत बढाउँदै लगेको छ । लम्बिदै गएमा रेमिट्यान्समा प्रभाव परि अर्थतन्त्र नै संकटमा पर्ने देखिन्छ ।’ ढकालले भने ।