काठमाडौं । सरकारले आजदेखि शुरु गरेको ’सरसफाइ सप्ताह २०८३’ को शुभारम्भ गरेको छ ।
सोमबार वीर अस्पतालबाट स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहेता सरसफाई गर्दै यस अभियानको शुभारम्भ गरेकी हुन्छ ।
सरकारले सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन आजदेखि जेठ १ गतेसम्म देशभर ’सरसफाइ सप्ताह २०८३’ सञ्चालन गर्ने बताएको छ ।
सरकारले सरकारी कार्यालयका शौचालयहरूलाई दुर्गन्धरहित बनाइने र नियमित पानीको व्यवस्था सुनिश्चित गरिने तथा हात धुने स्थानमा साबुन अनिवार्य गरिएको छ भने दैनिक सफाइको अभिलेख राख्नुपर्ने बताएको छ । शौचालयहरू महिलामैत्री, स्यानिटरी डिस्पोजल सुविधायुक्त र सम्भव भएसम्म अपाङ्गतामैत्री बनाउन निर्देशन दिएको छ ।
त्यति मात्रै होइन, कार्यालयहरूले कम्तीमा दुई प्रकारका डस्टबिन राखी कुहिने र नकुहिने फोहोर छुट्याउनुपर्नेछ । पुराना काम नलाग्ने सामानहरूको उचित व्यवस्थापन गरिनुका साथै खुला रूपमा फोहोर जलाउन पूर्ण प्रतिबन्ध लगाइएको छ ।

साथै सरकारले देशभरका सबै कार्यालय परिसरको १०० मिटर वरिपरिको क्षेत्र, नाली र ढलहरू सफा हुनुपर्ने, पार्किङ क्षेत्रको सुधार र अव्यवस्थित तार वा पोस्टरहरू हटाउनुपर्ने सूचक राखिएको जनाएको छ ।

कार्यालयमा हेल्प डेस्कको व्यवस्था गरी सेवाग्राहीले सम्मानित र व्यवस्थित महसुस गर्ने वातावरण बनाइनेछ। सूचना प्रणालीलाई पूर्ण रूपमा सञ्चालनमा ल्याइने बताइएको छ ।

यो अभियानलाई दिगो बनाउन प्रत्येक निकायले एक ’सरसफाइ सम्पर्क व्यक्ति’ तोक्नुपर्ने र प्रत्येक हप्ताको सरसफाइ कार्यतालिका निर्माण गरी मासिक रूपमा स्व–मूल्यांकन गर्नुपर्ने व्यवस्था मार्गदर्शनमार्फत गरिएको गरेको छ ।
यस अभियानको कार्यान्वयन र अनुगमनको सम्पूर्ण जिम्मेवारी सम्बन्धित निकायका प्रमुखलाई सुम्पिएको छ भने यसको नियमित अभिलेख राख्नुपर्ने र यो अभियानले सबै संघीय, प्रादेशिक र स्थानीय कार्यालयका साथै सार्वजनिक शैक्षिक संस्थाहरूलाई समेत समेट्ने बताइएको छ ।