काठमाडौं । चिनियाँ अटो निर्माता डोङफेङले दक्षिण अफ्रिकामा आफ्नो नयाँ विद्युतीय एसयूभी ‘नामी ०६ ई१’ सार्वजनिक गरेको छ । यो हालसम्मकै सबैभन्दा सस्तो पूर्ण विद्युतीय एसयूभीका रूपमा बजारमा आएको बताइएको छ ।
केही अन्तर्राष्ट्रिय बजारमा ‘भिगो’ नामले परिचित यो मोडलको मूल्य चार लाख ९९ हजार र्यान्डबाट सुरु हुन्छ । जुन हालसम्मकै लोकप्रिय विद्युतीय एसयूभी जिली ई५/ईएक्स५ भन्दा करिब दुई लाख र्यान्ड कम रहेको कम्पनीको दाबी छ ।
डोङफेङको यो तेस्रो विद्युतीय मोडल हो । यसअघि कम्पनीले ‘बक्स’ ह्याचब्याक र ‘००७’ प्रिमियम सेडान बजारमा ल्याइसकेको छ । नयाँ नामी ०६ ई१ दुई भेरियन्टमा उपलब्ध हुनेछ । दुवै भेरियन्टमा १२० किलोवाट क्षमताको फ्रन्ट–माउन्टेड मोटर र २३० न्युटन मिटर टर्क उपलब्ध गराइएको छ, जसले गाडीलाई ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति लिन करिब ७.८ सेकेन्ड लाग्ने कम्पनीले जनाएको छ ।
नामी ०६ ई१ मा ४४.९४ किलोवाट प्रतिघण्टा क्षमताको लिथियम–आइरन–फस्फेट ब्याट्री प्रयोग गरिएको छ । चिनियाँ सीएलटीसी परीक्षण मापदण्डअनुसार यसले एक पटकको चार्जमा ४०१ किलोमिटरसम्म यात्रा गर्न सक्छ भने डब्लुएलटीपी मापदण्डअनुसार यसको रेन्ज करिब ३०० किलोमिटर रहने बताइएको छ । यसमा ६० किलोवाटसम्मको डीसी फास्ट चार्जिङ सपोर्ट उपलब्ध छ, जसले ब्याट्रीलाई ३० प्रतिशतदेखि ८० प्रतिशतसम्म चार्ज गर्न करिब ३० मिनेट लाग्छ ।
उच्च स्पेसिफिकेसनयुक्त ई३ भेरियन्टको मूल्य पाँच लाख ७९ हजार र्यान्ड तोकिएको छ । यसमा ५१.८७ किलोवाट प्रतिघण्टा क्षमताको ठूलो ब्याट्री उपलब्ध गराइएको छ, जसले रेन्जलाई ४७१ किलोमिटर (सीएलटीसी) वा डब्लूएलटीपी मापदण्डअनुसार करिब ३५० किलोमिटरसम्म पुर्याउँछ । यस मोडलमा १६७ किलोवाटसम्मको डीसी फास्ट चार्जिङ सपोर्ट उपलब्ध छ, जसले ३० प्रतिशतदेखि ८० प्रतिशतसम्म चार्ज गर्न केवल १८ मिनेट मात्र लाग्ने कम्पनीले जनाएको छ । एसी चार्जिङका लागि यसमा ६.६ किलोवाटसम्मको सपोर्ट रहेको छ ।

नयाँ विद्युतीय एसयूभीमा १२.८ इन्चको सेन्टर इन्फोटेन्मेन्ट डिस्प्ले, ८.८८ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, ६–स्पिकर अडियो सिस्टम, ५० वाट वायरलेस फोन चार्जर, रियर–भ्यु क्यामेरा, पार्किङ सेन्सर तथा कर्टेन एयरब्यागसहित ६ वटा एयरब्याग उपलब्ध गराइएको छ । साथै, अटोमेटिक एयर कन्डिसनिङ, टायर प्रेसर मोनिटरिङ सिस्टम, लेदरेट सिट, हिल–स्टार्ट असिस्ट, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, ब्रेक असिस्ट, ट्र्याक्सन कन्ट्रोल तथा ५०० लिटर बुट स्पेसजस्ता आधुनिक सुविधाहरू पनि समावेश छन् ।

नामी ०६ ई१ कालो, सेतो, सिल्भर, सुन्तला र हरियो गरी पाँच आकर्षक रंगमा उपलब्ध हुनेछ । ग्राहकहरूले आफ्नो रोजाइअनुसार रंग छनोट गर्न सक्नेछन् । डोङफेङ दक्षिण अफ्रिकामा अत्यधिक परिचित ब्रान्ड नभए पनि चीनका चार प्रमुख सरकारी स्वामित्वका अटोमोबाइल कम्पनीमध्ये एक हो । कम्पनीले हालै निसानसँग संयुक्त साझेदारी विस्तार गरेपछि यसको विश्वसनीयता र अन्तर्राष्ट्रिय उपस्थिति अझ मजबुत हुने अपेक्षा गरिएको छ ।

विश्वभर पेट्रोल र डिजेलको मूल्य लगातार बढिरहेका बेला विद्युतीय सवारीसाधनप्रति आकर्षण पुन: बढ्दो अवस्थामा छ । दक्षिण अफ्रिकामा पछिल्ला वर्षहरूमा धेरै विद्युतीय मोडलहरू सार्वजनिक भए पनि सर्वसाधारणले सहज रूपमा किन्न सक्ने मूल्यमा आएको यो पहिलो पूर्ण विद्युतीय एसयूभी मानिएको छ ।
कम लागतमा विद्युतीय सवारीसाधन प्रयोग गर्न सकिने सन्देशसहित आएको डोङफेङ नामी ०६ ई१ दक्षिण अफ्रिकाको विद्युतीय सवारी बजारमा बजेटमैत्री र व्यवहारिक विकल्पका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ ।